१६ कात्तिक, कञ्चनपुर । एडिज नामक लामखुट्टेको टोकाइबाट सर्ने डेङ्गुका चारजना बिरामी कञ्चनपुरमा फेला परेका छन् । भारतबाट काम गरेर फर्केका चारजना बिरामीमा डेङ्गुको संक्रमण देखापरेको हो ।

चारै जना महाकाली अञ्चल अस्पतालमा उपचारपछि निको भई घर फर्केको जिल्ला जनस्वास्थ्य कार्यालयका कीटजन्य अधिकृत हेमराज जोशीले बताए । उनका अनुसार साउन, भदौमा एक/एक र असोजमा दुई जनामा डेङ्गुको संक्रमण भएको पाइएको थियो । “जिल्लाको दक्षिणी क्षेत्रका डेङ्गुबाट संक्रमित छजनाभन्दा बढीले कैलालीको सेती अञ्चल अस्पतालमा उपचार गराएको जानकारीसमेत पाएका छौँ”, अधिकृत जोशीले भने ।

डेङ्गु सार्ने लामखुट्टेले टोकेमा ज्वरो आउने, जीउ दुख्ने, आँखाको गेडीमा दुखाई महसुश हुने लगायतका लक्षण देखिने गरेका छन् । डेङ्गुको संक्रमणबाट सर्वसाधारणलाई जोगाउनका लागि बेलौरी र पुनर्वास नगरपालिकामा लार्भा खोज्ने र नष्ट गर्ने अभियानसमेत सञ्चालन गरिएको उनको भनाइ छ । रासस