झापा, २६ बैशाख । मानव तस्करको जालोमा फसेका २३ नेपाली महिलाको भारतको मिजोरमबाट उद्धार गरिएको छ ।

म्यानमारसँग सीमा जोडिएको भारतको उत्तरपूर्वी राज्य मिजोरमबाट उद्धार गरिएका २३ महिलालाई बिहीवार झापाको काँकडभिट्टा नाकाबाट नेपाल ल्याइएको हो । उद्धार गरिएका २३ जना महिलालाई चार दिन लगाएर बसमार्फत काँकडभिट्टा नाका हुँदै शक्ति समुह, माइती नेपाल लगायतका संस्थाहरुको पहलमा नेपाल ल्याइएको हो ।

नेपालका विभिन्न जिल्लाबाट मानव तस्करको जालोमा फसेर भारत पुगेका ती महिलाहरुलाई स्थानीय नेपाली भाषी नागरिकको सुराकीका आधारमा भारतीय संघसंस्था र मिजोरम पुलिसले ६ दिन अघि उद्धार गरेको महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयका उप–सचिव कृष्णप्रसाद भुसालले जानकारी दिए ।

उनीहरुलाई मिजोरमको चम्फी भन्ने स्थानमा प्रहरी टोलीलले छापा मारेर उद्धार गरिएको जनाइएको छ । उद्धार गरिएकाहरुमा झापा सहित नेपालका विभिन्न जिल्लाका २० देखि ४५ वर्ष उमेर समुहका महिला रहेका छन् ।