१६ असोज, काठमाडौं । सप्तरीको कोइलाडी तिलाडीका देवनारायण यादवलाई भारतीय प्रहरीले पक्राउ गरि अपहरणको मुद्दा चलाएपछि छुटाउन सरकारले पहल शुरु गरेको छ ।

गृहमन्त्री जनार्दन शर्माले सप्तरीका प्रमुख जिल्ला अधिकारी र प्रहरी उपरिक्षकलाई फोन गरेर यादवलाई छुटाउने प्रक्रिया थाल्न निर्देशन दिएका छन् । देवनारायण र उनका छोरा अजय यादवलाई छुटाउन कुरा भइरहेको सप्तरी प्रहरीले जनाएको छ ।

देवनारायणका छोरा अजय तीन दिनअघि भारतको कुनौलीमा मेला हेर्न पुगेका थिए । रातको समयमा हुने मेलामा यादवका छोरा र स्थानीय युवाहरुबीच झगडा भयो । भारतीय प्रहरीले यादवका छोरासहित तीन जना र केही भारतीय युवकलाई नियन्त्रणमा लियो ।

साथै उमेर नपुगेकी भारतीय युवती भगाएको आरोप पनि अजयमाथी भारतीय प्रहरीले लगाएको छ । छोरा छुटाउन जादा देवनारायणलाई पनि भारतिय प्रहरीले पक्राउ गरेको हो ।

देवनारायण सहतिकाले १४ महिनाअघि नेपाल–भारत सीमामा पर्ने तिलाठीमा भारतीय पक्षले एकतर्फी बाँध बनाउन खोज्दा बाँध बनाउन दिएका थिएनन् । त्यतिवेला भारतीयसँग भएको झडपका क्रममा देवनारायण घाइते समेत भएका थिए ।