१८ चैत, काठमायडौं ।

संसद् सामाजिक न्याय तथा मानवअधिकार समितिले नेपाल र छिमेकी राष्ट्रबीच सीमा विवाद रहेका स्थानमा विज्ञसहितको प्राविधिक टोली चाँडो पठाउन सरकारलाई निर्देशन दिएको छ ।

समितिको आज बसेको बैठकले छिमेकीसँगको सीमा विवादको संवेदनशीलतालाई ध्यानमा राखी कञ्चनपुर जिल्लाको पुनर्बासलगायत अन्य विवादित क्षेत्रमा दुई पक्षबीच सहमति गरी टोली पठाउन निर्देशन दिएको हो ।

समितिले पुनर्बास नजिक नेपाल–भारत सीमा क्षेत्रमा ह्युमपाइप राख्ने क्रममा सहादत प्राप्त गरेका गोविन्द गौतमको परिवारलाई उचित क्षतिपूर्ति उपलब्ध गराउन, सख्त घाइते टीकाराम चापागाईको सम्पूर्ण उपचार व्यवस्थापन गर्न तथा अन्य घाइते तथा पीडित परिवारलाई यथाशीघ्र राहत रकम उपलब्ध गराउनसमेत सरकारलाई निर्देशन दिएको छ ।

बैठकले नेपाल प्रहरीद्वारा काठमाडौँको सामाखुसीमा सञ्चालित विद्यालयका कक्षा ८ का विद्यार्थी कुन्दन थापाको रहस्यमय मृत्युका सम्बन्धमा समितिका सदस्य ओङ्दी शेर्पाको संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरेको छ । रासस