भारतीय नाकावन्दी पछि उपप्रधान एवं परराष्ट्रमन्त्री कमल थापा दुई पटक भारत गए । दोस्रो पटक जाँदा भारतसँग केही सम्झौताहरु गरेको कुराहरु पनि सार्वजनिक भएका छन् । उनी फर्के लगत्तै मधेस केन्द्रीत दलका नेता भारत भ्रमणमा छन् । मन्त्री थापाले कस्तो सम्झौता गरे अनि भारत र मधेसी मोर्चाका नेताबीचको छलफल पछि नाकावन्दीको अवस्था के होला ? प्रस्तुत छ यसै सन्दर्भमा बोमलाल गिरीले उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री कमल थापासँग गरेको कुराकानीः

दोस्रो पटक भारत भ्रमण गरेर आउँदा भ्रमण फलदायी भएको बताउनु भएको थियो । तर जनताले महसुस गर्ने गरी अहिलेसम्म परिणाम देखिएको छैन । अनि भ्रमण कसरी फलदायी भयो ?
नेपालको आन्तरिक मामिलामा भारत सरकारसँग बहस गर्ने छलफल गर्ने, नीति निर्माण गर्ने कुरा हुन्न । नेपालको राजनीति नेपाली जनता र नेपाली राजनीतिक दलले नै निर्णय गर्ने हो । म दुई पटक नै भारत भ्रमण गर्दा भारतीय नेताहरुसँग गहन र खुल्ला रुपले छलफल गरेको छु । भारतमा रहँदा एक पटक होइन पटक पटक भारतीय विदेश मन्त्रीसँग छलफल गर्ने मौका पाए । कतिपय कुराहरुमा भ्रम निराकरण गर्न सहयोग पुरयाएको छु ।

kamal thapa- seating at office
तर खै भ्रम निराकरण गर्न सघाउ पुरयाए पनि त्यो भ्रम हटेको देखिन्न । नाकावन्दी खुलेकै छैन ।
पख्नुस न । समय लाग्दो रहेछ । आज कुरा गर्‍यो भोली नै त्यसको परिणाम आउन गाह्रो पर्छ । किनभने धेरै जटिल र जेलिएको अवस्था छ । तर कमसेकम भ्रम निराकरण भएको अनुभव गरेको छु ।

के रहेछ त त्यो भ्रम ?
पहिले त नेपालको अहिलेको परिस्थिती र आन्दोलनका बारेमा अनि संविधानमा व्यवस्था गरेको कतिपय विषय वस्तुमा पनि यथार्थ जानकारीको अभाव रहेको महसुस गरे । दुई देशका पदाधिकारी र नेताहरुका बीचमा पनि असमझदारी भएको रहेछ । त्यसलाई हटाउन म सफल भएको जस्तो लागेको छ । तर परिणाम नदेखिएसम्म सफल भए भनेर मैले एक पक्षीय रुपमा दावी गर्नुको अर्थ पनि छैन । तर म आशावादी छ ।
मैले यो पटक भारतीय नेताहरुसँग जोडदार रुपमा उठाएको अर्को कुरा के हो भने विगतमा नेपाल र भारत दुबै देशबाट केही कमी कम्जोरी भए होलान्, यसको कारणले र नेपालको आन्तरिक राजनीतिमा देखा परेको विवादका कारण दुई देशको सम्बन्धलाई बन्धक बनाउन हुँदैन र पारवहन तथा आपूर्ति व्यवस्थामा अवरोध पुर्‍याएर नेपालका सर्वसाधारण जनतालाई कष्ट दिने र अर्थतन्त्रलाई धरासायी बनाउन पाइदैन भनेर मैले जोडदार रुपमा राखेको छु । र उनीहरुले पनि गम्भीर रुपमा ग्रहण गरेको पाएको छु । बाँकी कुरा त परिणाममा देखिने हो । परिणाममा सुधार भए भइहाल्यो, भएन भने पनि त राष्ट्रिय स्वाधिनताको रक्षाका लागि निरन्तर लागिरहनु पर्छ ।

तपाईले भारतमा रहँदा भारतीय पक्षसँग ४ बुँदे सहमती गर्नु भयो र बालुवाटारमा त्यसलाई परिमार्जन गरेर ३ बुँदे बनाइयो र त्यसकै आधारमा मधेसी मोर्चासँग सहमती गर्दै हुनुहुन्छ भन्ने कुरा पनि आएका छन् ? खास कुरा के हो ?
भारतमा गएर कुनै पनि कुरामा सहमती सम्झौता गर्ने भन्ने प्रश्न हुँदै हुन्न । दुई देशका सम्बन्धका बारेमा केही कुराहरुमा सहमती हुन सक्लान । तर नेपालको आन्तरिक राजनीतिका बारेमा भारतीय नेताहरुसँग सहमती सम्झौता गर्ने भनेर त म परिकल्पना पनि गर्न सक्दिन । अहिले चर्चामा आइरहेको जुन कुराहरु छ, खासगरी तराई मधेसको समस्या समाधान गर्ने क्रममा त्यो त नेपाल भित्रै उब्जेको प्रस्ताव हो । जनसंख्याका आधारमा निर्वाचन क्षेत्र कायम गर्नु पर्ने, समानुपातिक समावेशी सिद्धान्तलाई मौलिक हकमा राख्ने, प्रदेशको सिमांकनलाई राजनीतिक समिति गठन गरी छिटै कार्यान्वयन गर्नु पर्छ भन्ने कुरा त म दिल्ली जानु अघि नै यहाँ दलहरुका विचमा नै सहमती भएको विषय हो । यहि विषय मैले भारतीय नेताहरुलाई जानकारी गराएको हुँ । र त्यो नै अहिलेको राजनीतिक समस्या समाधान गर्ने रोडम्याप हो भन्ने कुरामा कन्भिन्स गरेको छु ।

दुई पटकको भ्रमणमा एक पटक प्रधानमन्त्री नरेन्द्र मोदीसँग र दुई पटक विदेशमन्त्री शुष्मा स्वराजसँग भेट गर्नुभयो । खासमा भारतले चाहेको भित्री स्वार्थ के रहेछ ? तपाईले के पाउनुभयो ?
एउटा छिमेकी भएकाले शान्ति, स्थिरता र एकता कायम रहोस् भनेर चाहना राख्नु स्वभाविक हो । त्यसलाई नकारात्मक रुपमा लिन हुन्न । तर नेपालको संविधानमा के हुनुपर्छ, कुन क्षेत्र र समुदायको मान्यता के हुनुपर्छ भनेर नेपाली जनता आफैले निर्धारण गर्ने कुरा हो ।

प्रदेशको सिमांकन, जनंख्याका आधारमा निर्वाचन क्षेत्र निर्धारण, समानुपातिक समावेशी सिद्धान्तलाई मौलिक हकमा राख्ने गरी संविधान संसोधन गर्न तयार भएको भारतलाई चित्त बुझाउनका लागि हो कि मधेसी मोर्चालाई ?
संविधानमा संसोधन गर्न वा प्रदेशको सिमांकनका लागि जुन सुत्र प्रस्ताव गरिएको छ त्यो मधेस केन्द्रीत दलहरुको आन्दोलनलाई नै सम्बोधन गर्न हो । कतिपय कुराहरु संविधानमा पहिले पनि नभएका होइनन् तर मधेसी मोर्चाले स्पष्टताको अभाव रहेको भनेकाले यो प्रस्ताव अघि बढाउन खोजिएको हो । मलाई लाग्छ यो भइसकेपछि मधेसका जनताले उठाएको माग सम्बोधन गर्नेछ र संविधानको सहज कार्यान्वयनमा पनि सहयोग गर्ने भएकाले यसलाई नकारात्मक रुपमा लिनु पर्ने जरुरी छैन ।

यस पटकको तपाईको भारत भ्रमण पछि त सरकार गठबन्धनमै टकराव आएको कुराहरु पनि छन् नि ?
सरकारको स्थायीत्वमा कतैबाट पनि प्रश्न आएको छैन । सरकारले गठन हुने वित्तिकै तराईको आन्दोलन र भारतीय नाकावन्दीको संकटलाई विरासतको रुपमा ग्रहण गर्नुपरयो । त्यो संकट समाधान गर्दै शान्ति र स्थायीत्व कायम गर्दै आर्थिक विकासको निम्ति सरकार अघि बढ्छ । सरकारको स्थायीत्व माथि शंका गर्नु पर्ने आवश्यकता छैन ।

तपाई फर्कने वित्तिकै मधेसी मोर्चाका नेता अहिले भारत भ्रमणमा छन् । तपाईले दुई पटक भारत भम्रण गरी राजनीतिक भेटवार्ता गरेको आधारमा के भन्न सक्नु हुन्छ कि भारतले मोर्चाका नेतालाई के सन्देश दिन सक्छ र भविष्यमा के होला भन्ने अनुमान गर्न सकिन्छ ?
देश भित्रको समस्याको समाधान देश भित्रै खोज्नु पर्ने हो भन्ने मेरो मान्यता हो । अव उनीहरुसँग के कुरा हुन्छ ? के प्रयोजनका लागि हो र भारतले के सन्देश दिन्छ भन्ने कुरा आगामी दिनमा देखिएला त्यसपछि मात्र टिकाटिप्पणी गर्नु उपयुक्त हुन्छ । भारतले कि त अझै आन्दोलन चर्काउ कि सहमती गर भन्ने दवाव आउन सक्छ भन्ने आम बुझाई छ । यस बारेमा म केही पनि भन्न चाहन्न । आगामी दिनमा त्यसले कुन रुप लिन्छ त्यसपछि मात्र प्रतिकृया दिन उपयुक्त ठान्छु ।

अहिलेको नाकावन्दीको सम्बन्ध तपाईले उठाएको हिन्दू राष्ट्रसँग पनि अन्तर सम्बन्धित छ भनिन्छ नि ?
कुन राजनीतिक दलको के धारणा हुन्छ भन्ने कुराले दुई देशको सम्बन्धको बीचमा त्यति महत्व राख्दैन । कारण र वहाना जे भएपनि नेपाली जनताले दुःख कष्ट पाउने गरी गरिएको नाकावन्दीलाई कुनै पनि हालतमा न्यायोचित र जायज मान्न सकिन्न ।

तपाई त परराष्ट्रमन्त्री तपाईसँग पनि धेरै कुरा ठोक्किन्छ । न त भारतसँगको नाका खोल्न सक्नु भयो न अरु विकल्प नै ल्याउन । जनताले दुख पाएको पाइ । जनताले सोधिरहेका छन् नाकावन्दी कहिले खुल्छ ?
नेपाल भारत सम्बन्धमा जसरी असमझदारी देखा परिरहेको छ, त्यो म पराराष्ट्रमन्त्री भएपछि वा सरकार गठन भएपछि विकसित भएको परिस्थिती होइन । धेरै अघिदेखि नेपालको राष्ट्रिय राजनीति, नेपालको कुटनीतिक सञ्चालनमा देखापरेका विकृति विसंगतीको समष्ठिगत परिणाम हो । त्यसको निराकरणका लागि मैले वा सरकारले केही योगदान पुरायाउन सके सन्तोषको विषय हुन सक्छ । सुधार उन्मुख छ भन्ने मलाई लाग्छ ।

के आधारमा छ सुधारउन्मुख ?
अहिले हामीले गरिरहेको कुराकानी, असमझदारी हटाउन भइरहेका प्रयासका आधारमा सुधारउन्मुख छ भन्ने लाग्छ । तर प्रयास एउटा पक्ष हो भने परिणाम अर्को पक्ष । प्रयास इमान्दारीता पूर्वक भइरहेको छ, परिणामको प्रतिक्षा गरौं ।

को हुन् भारतको संसद थर्काउने नेपालका सच्चा मित्र मणि शंकर

कमल थापाले भारतसँग गोप्य सम्झौता गरेको शंका छ- विजुक्छे