एजन्सी । डोक्लाम विवाद सेलाउन नपाउँदै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी चीन जाने भएका छन् । प्रधानमन्त्री मोदी ब्रिक्स सम्मेलनमा सहभागी हुन चीन जान लागेका हुन् ।

ब्रिक्स सम्मेलन चीनको फुजन प्रान्तको शियामेन शहरमा आगामी आइतबारदेखि मंगलबारसम्म हुँदैछ । ब्रिक्समा ब्राजिल, रुस, भारत, चीन र दक्षिण अफ्रिका सदस्य रहेका छन् । सम्मेलनमा जाने भएपनि चीनसँगको तनावका कारण प्रधानमन्त्री मोदीको भ्रमणलाई निकै महत्वका साथ हेरिएको भारतीय सञ्चारमाध्यामले जनाएका छन् ।

भ्रमणका क्रममा प्रधानमन्त्री मोदीले चिनियाँ राष्ट्रपति सि जिन पिङसँग छुट्टै भेटवार्ता गर्न सक्ने बताइएको छ । चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता हुआ छुनिङले नियमित पत्रकार भेटघाटमा बोल्दै बहुदेशीय सम्मेलनमा दुई पक्षीय भेटघाट नियमित तालिकामै पर्ने बताएकी छिन् ।

भुटानसँगको विवादित भूमि डोकलाम हुँदै चीनले सडक निर्माण गरेपछि भारत र चीन बीच झण्डै दुई महिना लगातार विवाद भएको थियो । केही दिन अघि मात्रै भारतले सेना फिर्ता गरेपछि तनाव केही कम भएको छ ।