काठमाडौं, २८ बैशाख । इण्डियन प्रिमियर लिग (आइपीएल) क्रिकेट सकेर स्वदेश फर्कने तयारीमा रहेका नेपाली लेग स्पीनर सन्दिप लामिछानेले आफ्नो टिम दिल्ली क्यापिटल्सका सबै सदस्यलाई धन्यवाद दिएका छन् ।

शनिबार साँझ ट्वीट गर्दै सन्दिपले दिल्ली क्यापिटल्स परिवारको सदस्य हुन पाउँदा आफूलाई गर्व लागेको उल्लेख गरेका छन् । टिमले खेलेका १६ खेलमध्ये १० खेल बेञ्चमै विताएपनि सन्दिपले आफूले प्रतियोगिताको यो सिजन पूर्ण रुपमा इन्जोय गरेको बताएका छन् । पहिलोपटक प्लेअफ प्रवेश गरेर टिमले नयाँ इतिहास रचेको सन्दर्भमा उनले लेखेका छन्, ‘यो प्रतियोगिता हाम्रा लागि सानदार रह्यो ।’

उनले टिमका खेलाडी, प्रशिक्षक, सपोर्टर सबैलाई धन्यावद पनि दिएका छन् । सन्दिपले आइपीएलको यो संस्करणमा खेलेका ६ खेलमा ८ विकेट लिएका थिए ।