१६ भदौ, काठमाडौँ।

सरकारले दुई छिमेकी मुलुक भारत र चीनका लागि राजदूतहरु सिफारिस गरेको छ ।Deep-Kumar-Upadhyay-600x0

सिंहदरबारमा आज बसेको मन्त्रिपरिषद् बैठकले भारतका लागि दीपकुमार उपाध्याय र चीनका लागि लीलामणि पौड्याललाई प्रस्ताव गर्ने निर्णय गरेको सरकारका प्रवक्तासुरेन्द्रकुमार कार्कीले जानकारी दिए । उपाध्याय यसअघि पनि भारतका लागि नेपाली राजदूत थिए । उनलाई अघिल्लो केपी शर्मा ओली नेतृत्वको सरकारले करिब चार महिनाअघि फिर्ता बोलाएको थियो । पौड्याल नेपाल सरकारका पूर्व मुख्यसचिव हुन ।

यो पढ्नुस्: प्रचण्ड र देउवा ओलीलाई खुशी बनाउने बाटोमा !

यसअघि पूर्ववर्ती सरकारले पूर्व परराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डेलाई चीनका लागि नेपाली राजदूतमा नियुक्त गर्न सिफारिस गरे पनि नयाँ सरकारले त्यसलाई रद्द गरेको थियो । दुई छिमेकी मुलुकमा निकट भविष्यमै उच्च (प्रधानमन्त्री र राष्ट्रपति) स्तरका भ्रमण हुँदैछ ।

यो पढ्नुस्: भारतीय मिडिया भन्छ- नेपालमा चीनको कमजोरीको फाइदा भारतले उठाउँदैछ

प्रधानमन्त्री पुष्पकमल दाहालले यही भदौ अन्तिममा भारतको औपचारिक भ्रमण गर्दै छन् । त्यस्तै चीनका राष्ट्रपतिले पनि निकट भविष्यमै नेपाल भ्रमण गर्ने बताइएको छ ।

त्यस्तै बैठकले राष्ट्रिय योजना आयोगका उपाध्यक्षमा डा मीनबहादुर श्रेष्ठलाई नियुक्त गर्ने निर्णय गरेको छ । डा श्रेष्ठ नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक हुन । बैठकले प्रधानमन्त्रीको आर्थिक सल्लाहकारमा अर्थविद् डा श्रीराम पौडेल र परराष्ट्र सल्लाहकारमा कूटनीतिक मामिलाका जानकार डा ऋषि अधिकारीलाई नियुक्ति गर्ने निर्णय गरेको सूचना तथा सञ्चारमन्त्रीले जानकारी दिए ।

बैठकले प्रतिनिधिसभा, प्रदेशसभा र राष्ट्रियसभाको निर्वाचनसम्बन्धी विधेयक तर्जुमाका लागि सैद्धान्तिक स्वीकृति प्रदान गरेको छ । मन्त्रिपरिषद् बैठकमा सरकारका सचिव हेरफेरबारे सामान्य छलफल भए पनि कुनै निर्णय भने भएन । रासस