एजेन्सी । भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभल र चीनियाँ समकक्षी यांग जिएचीबीच भेटवार्ता भएको छ ।

ब्रिक्स देशको राष्ट्रिय सुरक्षा सल्लाहकारको बैठकमा भाग लिन गएका डोभल र चिनियाँ समकक्षी यांगबीच छुट्टै भेटवार्ता भएको हो । दुई देशबीच भूटानको सीमा क्षेत्र डोकलाममा जारी तनावका बीच भएको यो भेटलाई निकै महत्वपूर्ण मानिएको छ ।

चीनका राष्ट्रिय सुरक्षा सल्लाहकार यांग चीनियाँ कम्यूनिष्ट पार्टी र राजनीतिमा राम्रो दख्खल राख्ने व्यक्तिका रुपमा परिचित छन् ।

दुई नेताबीचको भेट डोकलाम विवाद समाधानका लागि सहयोग पुग्ने अनुमान भारतीय संचारमाध्यामले गरेका छन् । डोभल र यांगको भेटपछि चीनको सरकारी समाचार संस्था सिन्ह्वाले दुई देशबीच भातृत्व र भाइचाराको सम्बन्धका विषयमा कुराकानी भएको समाचार प्रशारण गरेको भारतीय संचारमाध्यामको दाबी छ ।

पश्चिमा देशहरुले भारत र चीनलाई लडाउन खोजेको भन्ने महशुस दुबै देशले गरेको संकेत समाचारमा दिइएको छ । डोकलामबाट सैनिक फिर्ता गर्नुपर्ने कुनै कुरा उल्लेख नगरेकाले चीन नरम भएर प्रस्तुत भएको भारतको बुझाई छ ।

भारतले चीनमाथि शंका गर्न बन्द गर्नुपर्ने भन्दै चीन भारतको विकासको पक्षमा रहेको समाचार सिन्ह्वाले प्रशारण गरेको भारतीय संचारमाध्यामले उल्लेख गरेका छन् । डोकलाममा चीनले भारतीय सेनामाथि सडक निर्माणमा बाधा पु¥याएको आरोप लगाउँदै आएको छ । त्यसयता लगातार चीनले भारतमाथि सैनिक फिर्ता गर्न दबाब दिइरहेको छ ।