२४ कात्तिक, विराटनगर ।

भारतले गएरातिदेखि आफ्ना पाँचसय/हजारको नोटको चलनचल्तीमा रोक लगाएपछि दुबै मुलुकका सीमावर्ती बजारमा यसको प्रत्यक्ष प्रभाव परेको छ ।

सीमावर्ती भारतीय जोगबनी बजारमा पाँचसय/हजार नोटको चलनचल्तीमा रोक लागेपछि बजार सुनसान अवस्थामा पुगेको छ भने मोरङ र झापाका मनिचेन्जर(सटही) सञ्चालक प्रत्यक्ष मारमा परेका छन् ।

भारतीय नोटको कारोबारमा संलग्न मनिचेन्जर,अवैध कारोबार गर्नेहरु, भारतीय नोट सङ्कलन गरी बढी मूल्यमा बिक्री गर्नेबीच यतिखेर खैलाबैला मच्चिएको छ । पूर्वाञ्चलमा सबैभन्दा बढी मोरङ र झापामा भारतीय नोटको कारोबार हुने गर्छ । झापामा ३६ वटा र मोरङमा २४ वटा मनिचेन्जर सञ्चालनमा छन् । यस बाहेक, कतिपय व्यापारीले भारतीय नोट सङ्कलन गरी बढी मूल्यमा बिक्री गर्ने गरेका छन् ।

indian-currency

सीमावर्ती क्षेत्रमा नेपाली बासिन्दालाई भारततर्फ आवतजावत गर्नका लागि जोहो गरेर राखेका भारु पाँचसय र हजारका नोटको चलनचल्तीमा रोक लागेपछि उनीहरु बिच्चलीमा परेका छन् ।

भारु पाँचसय/हजारका नोट आधा मूल्यमा सटही गर्न कतिपय नेपाली बाध्य भएका छन् । मोरङ उद्योग सङ्गठनका अध्यक्ष शिवशङ्कर अग्रवालले यस निर्णयबाट नेपालको अर्थतन्त्रमा सकारात्मक प्रभाव पर्ने बताउछन । “भारु पाँचसय/हजारको नोटको कारणले तस्करी बढ्ने गरेको थियो, अब भन्सारको माध्यमबाट नै अधिकांश भारतीय सामान भित्रिने सम्भावना बढेकाले स्वभाविक रुपमा राजस्व सङ्कलनमा वृद्धि हुनेछ,” उनले भने ।

झापा उद्योग वाणिज्य सङ्घका महासचिव पङ्कज शर्मा जिल्लामा दैनिक एक करोड भारतीय रुपैयाँको कारोबार हुने गरेको बताउछन । अधिकांश व्यापारी वा मनिचेन्जरसँग ठूलो परिमाणमा त्यस्ता नोट मौज्दात रहेका उनको भनाइ छ । रासस