२८ फागुन, काठमाडौ।

आईसीसी वर्ल्ड क्रिकेट लिगको केन्या विरुद्धको खेलमा नेपाल पाँच विकेटले पराजित भएको छ । कीर्तिपुरमा नेपाललाई हराउँदै केन्याले महत्वपूर्ण दुई अंक खोसेर लगेको छ । अब नौ खेलमा केन्याको १० अंक भएको छ भने नेपालको ६ अंक छ ।

वर्षाले पटक पटक बाधा उत्पन्न गरेको खेलमा नेपाल बलिङ र ब्याटिङ दुवैमा कमजोर सावित भयो । डक वर्थ लुईस नियमका आधारमा २६ ओभरमा ९४ रनको लक्ष्य पाएको केन्याले पाँच विकेटको क्षतिमा जित हासिल गर्यो ।

केन्याको जितसँगै कीर्तिपुरमा दशौं हजार खेलप्रेमी निराश हुँदै घर फर्के । वर्षाले अवरोध गरेपछि पहिले २९ ओभरमा १ सय ४ रन बनाउने लक्ष्य पाएको केन्याले ५ विकेटको क्षतिमा ८० रन बनाएको अवस्थामा पानी परेपछि नयाँ लक्ष्य पाएको थियो ।

३८ ओभरमा झारिएको खेल दुई ओभर बाँकी छँदा फेरि पानी परेर रोकिएपछि नेपालले बाँकी दुई ओभर खेल्न पाएन र केन्यालाई लक्ष्य दिईएको थियो । वर्षा हुँदा ३६ ओभरको खेल सकिँदा नेपालले आठ विकेटको क्षतिमा १ सय १२ रन बनाएको थियो ।

नेपालका लागि सागर पुन र सन्दीप लामिछानेले दुई दुई तथा बसन्त रेग्मीले एक विकेट लिए । व्याटिङ तर्फ सोमपाल कामी १५ र शक्ति गौचन १८ रन बनाएर नटआउट रहे ।

नेपालका लागि कप्तान ज्ञानेन्द्र मल्ल २७, दीपेन्द्र सिंह ऐरी १९, सागर पुन १०, बसन्त रेग्मी ६, विनोद भण्डारी चार, सुनील धमला ३, शरद भेषावकर ३, र मेहबुब आलम २ रन बनाएर आउट भए । आजको खेलमा कप्तान पारस खड्काको अभाव प्रष्टै देखियो ।

वर्ल्ड क्रिकेट लीग च्याम्पियन्सीपका शीर्ष चार टोली विश्वकप छनोटमा खेल्नेछन् । नेपालले केन्यासँग अर्को खेल पर्सि खेल्नेछ ।

स्रोत: क्रिकइन्फो