कुशल श्रेष्ठ

भू-कम्प प्रतिरोधात्मक घरको निर्माणमा आउने एउटै समस्या भनेको जग बनाउँदा- जग बलियो हुनुपर्यो, त्यसैअनुसार घरमा भित्ताहरू पनि मोटो र बलियो हुनुपर्यो। फेरि सोँच्नुहोला कि यो त समाधान हो, समस्या कसरी भयो? समस्या यो हो कि, लघु तथा मध्यम स्तरीय घर निर्माण गर्दा यो अति खर्चालु र धेरै क्षेत्रफल ओगट्ने खालको हुन्छ। अनि पौराणिक र संवेदनशील भवनलाई भू-कम्प प्रतिरोधात्मक बनाउन के गर्ने? यसको लागि जापानको ‘कोमात्सु सेइरेन फ्याब्रिक ल्याबोरेटरी’ले राम्रो समाधान निकालेको छ।

उक्त कम्पनीले आविष्कार गरेको कार्बन फाइबरबाट बनेको ‘क्याबकोमा स्ट्रयाण्ड रड’ (CABKOMA Strand Rods) ले घरको छतलाई जमीनसँग बाँधेर कम्पनबाट बचाउन सक्दछ। जसको कारण भू-कम्प आउँदा जमीन र घर सँगसँगै हल्लिन्छ र भत्किनबाट बचाउँछ।cabkoma-strand-rod

बुझ्नुभएन? बुझ्नको लागि एउटा दृष्टान्त दिनु आवश्यक छ- मानौँ तपाईँ चारखुट्टे कुर्सीमा खुट्टाले भुइँमा नटेकी बस्नुभएको छ। त्यसपछि कसैले तपाईँ बसेको कुर्सीलाई बेस्सरी हल्लाइदियो भने के हुन्छ? अवश्य पनि तपाईँ लड्नुहुन्छ। तर यदि तपाईँलाई कुर्सीसँगै बाँधेर कुर्सीलाई हल्लायो भने तपाईँपनि कुर्सीसँगै हल्लिनुहुन्छ र लड्नबाट बच्न सक्नुहुन्छ। जापानको उक्त कम्पनीले बनाएको कार्बन फाइबर रडले पनि यस्तै काम गर्छ।

उक्त फाइबर एकदमै बलियो तर हलुका रहेको कम्पनीले दाबी गर्दछ- “१०० फिटको लामो फाइबरलाई एकजना सजिलै बोक्न सक्दछ।”

तर, तस्विर हेरेर सबैले मनमनै सोँच्नुभएको होला कि, ‘यसका त थुप्रै बेफाइदाहरू छन्’। अग्ला-अग्ला भवनहरूको लागि त यो प्रविधिले काम गर्दैन। त्यसैगरी बाक्लो बस्ती भएको ठाउँमा पनि यो प्रविधिको उपयोग हुन सक्दैन। तथापी, जहाँ पनि यसको उपयोग गर्न सकिन्छ, त्यस ठाउँका मानिसहरूलाई यो प्रविधिले बचाउन सक्नेमा कसैको मतभेद नहोला।