९ भदौ, भैरहवा।

भैरहवामा भदौ ३ गते बन्दकर्ता र आन्दोलकारी बिच झडप भए पनि जिल्ला प्रशासन कार्यालय रुपन्देहीले जारी गरेको निषेधाज्ञा भदौ १३ गते सम्मलाई बढाएको छ ।

बुधबार जिल्ला प्रशासन कार्यालय रुपन्देहीले पत्रकार सम्मेलन मार्फत निषेधाज्ञा थपिएका जानकारी गराएका हुन । भैरहवा तथा उस आसपासमा आन्दोलन चर्किन सक्ने आशंकाको कारण भैरहवाको निषेधाज्ञाको समय बढाइएको हो ।

यस बिच कुनै समुह बिशेषले निषेधाज्ञा तोडन् खोजे त्यस पछि उत्पन्न हुने अप्रिय घटनाको जिम्मेवारी सम्बन्धित समूहको नै हुने रुपन्देहीका प्रमुख जिल्ला अधिकारी बिष्णु प्रसाद ढकालले चेतावनी दिएका छन । प्रजिअ ढकालले कुनै पनि हालतमा भैरहवा भन्सार कार्यालय र अन्य कार्यालयहरुलाई ठप्प हुन नदिने बताए ।

यसका साथै बिश्व शान्तीको मुहान गौतम बुद्धको जन्मभूमि लुम्बिनीमा पनि पर्यटकको आवागमनलाई सहज बनाउने प्रतिवद्धता जनाएका छन । भैरहवाबाट लुम्बिनी जाने बाटोमा प्रदर्शनकारीहरुले ढुंगा मुढा तथा रुख ढाली अवरोध गरेका बाटो रुपन्देही प्रशासनले खुलाएर पर्यटकलाई सुरक्षा दिई लुम्बिनी पुरयाई रहेको छ ।

भैरहवामा भदौ ३ गते संयुक्त थरुहट मधेशी लोकतान्त्रिक मोर्चा र बन्दका प्रतिकारमा उत्रिएकाहरु बिच बेलहिया लगायत भैरहवामा भएको झडपका कारण २ जना प्रर्दशनकारीको मृत्यु भए पछि रुपन्देही प्रशासनले सुरक्षा कडा बनाएको छ ।