२० फागुन, काठमाडौँ।
काठमाडौँ महानगरपालिकाले भोलिदेखि सिंहदरबारभित्र रहेका सामुदायिक कुकुरको व्यवस्थापन सुरु गर्ने भएको छ ।

काठमाडौँ महानगरपालिकाले आज यहाँ पत्रकारसम्मेलनको आयोजना गरी सिंहदरबारभित्र रहेका झन्डै ४०० कुकुरको व्यवस्थापन गर्न लागेको जानकारी गराएको हो । भोलिदेखि सुरु गर्न लागिएको उक्त कार्यक्रममा पहिलो चरणमा ४० वटा पोथी कुकुरलाई बन्ध्याकरण गर्ने र त्यसपछि निरन्तररुपमा अन्य कुकुरको पनि व्यवस्थापन गर्ने विज्ञप्तिमा उल्लेख गरिएको छ ।

सोही अवसरमा महानगरका निमित्त कार्यकारी प्रमुख सनतकुमार थापाले व्यवस्थापनको प्रक्रियालाई प्रभावकारी बनाउन सम्बन्धित निकाय र सर्वसाधारणले पनि सहयोग गर्नुपर्ने बताउँदै निकट भविष्यमा नै सहरको अन्य स्थानमा यस कार्यक्रमलाई अगाडि बढाउने जानकारी गराए ।

थापाले भने, “समय समयमा सिंहदरबारमा रहेका कुकुरका कारण उच्च व्यक्तिको सवारी हुँदा समस्या ल्याएको छ ।” त्यसैले व्यवस्थापनको कार्यलाई अघि बढाउन लागिएको हो । “सहरमा बसोबास गर्ने मानिसले कुकुर पाल्ने रहर गर्ने र पालेको कुुकुर बुढो र बिरामी भएपछि त्यसलाई सडकमा छोड्ने बानीले गर्दा पछिल्लो समय काठमाडौँ उपत्यकामा कुकुरको सङ्ख्यामा वृद्धि भएको हो”, जनस्थ्य महाशाखा प्रमुख हरि श्रेष्ठ भने।

घरपालुवा र सामुदायिक गरी हाल काठमाडौँ उपत्यकामा करिब चार लाख कुकुर रहेको अनुमान गरिएको छ । रासस