११ वैशाख, रत्ननगर (चितवन) ।
स्थानीय निकायको निर्वाचनमा हाम्रालाई भन्दा राम्रालाई भोट दिने सुरमा छन् चितवनका मतदाता ।

निःस्वार्थी र राम्रा नेता छानिएमा गाउँ तथा नगरको विकासले फड्को मार्ने भन्दै मतदाता राम्रालाई भोट दिनुपर्ने बताउँछन् । वृद्धिजीवी गङ्गाधर खराल जनतासँग घुलमिल हुन सक्ने, विकासप्रेमी व्यक्ति र राम्रा व्यक्ति नै चुनावका लागि उपयुक्त हुने बताउँछन् ।

खराल भन्छन् , “आज चुनाव जितेर पनि उही रुपमा, जसरी भोटमाग्दा जनतालाई हेरेको थियो, जितेपछि पनि त्यसैगरी हेर्ने व्यक्ति चाहिन्छ ।”
विगतमा चुनाव जितेपछि नेता गाउँमा फर्केर पनि आएनन् भन्ने गुनासो व्याप्त छ । चितवनको विकट सिद्धिका अतिसिमान्तकृत समुदायका सुब्बा चेपाङको अनुभव पनि त्यही छ । अब हामीलाई सहयोग गर्ने, विकास गर्ने मान्छेलाई नै भोट दिने हो, सुब्बा चेपाङ भन्छन्। चितवनमा दलका नेताहरु भने उम्मेदवार छान्ने र प्रचारप्रसारमा तीव्रता दिने काममा व्यस्त भएका छन् । चितवनको रत्ननगरका एकजना वडाध्यक्षको उम्मेदवार स्वयम्ले नै आफ्नो चुनावी नारा ‘हाम्रालाई होईन राम्रालाई जिताउँ’ भनेर राखेका छन् ।

नेपालमा स्थानीय निकायको निर्वाचन नभएको दुई दशक भयो । त्यसैले धेरैका लागि यो निर्वाचन नयाँ छ । त्यसमाथि सङ्घीय संरचनाअनुसारको निर्वाचन भएकाले पनि विल्कुलै फरक छ । अधिकार गाउँतहमा आउने बेलाको निर्वाचन भएकाले अझै यो पालीको चुनाव महत्वपूर्ण र आशा गर्ने खालको रहेको भरतपुरकी शान्ति अधिकारी बताउँछन्। उनि पनि राम्रा उम्मेदवारलाई चुन्नसके विकासले फड्को मार्ने बताउँछन् । चितवन जिल्लामा एक महानगर, एक गाउँपालिका र पाँच नगरपालिका छ । तीन लाख १३ हजार २ मतदाताले कुल ५०४ जना निर्वाचित गर्ने छन् ।

स्थानीय प्रकाश भट्टराई जो आए पनि विकास हुनुपर्यो, आएका उम्मेदवारमध्ये सबैभन्दा उपयुक्त जो हुन्छ, जसले काम गर्न सक्छ उसैलाई जिताउन सके विकास हुने विचार राख्छन् । रासस