१८ साउन, जनकपुर ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले प्रदेश नं.२ मा आगामी असोज २ गते हुने स्थानीय तहको निर्वाचनमा आफ्नो पार्टी पहिलो बन्ने आधार, पृष्ठभूमि र सम्भावना रहेको बताएका दावी गरेका छन् ।

स्थानीय तह निर्वाचनको तेस्रो चरणको पूर्व सन्ध्यामा आज धनुषाको जनकपुरधाममा आयोजित पार्टी कार्यकर्तालाई प्रशिक्षण दिँदै प्रचण्डले पार्टीलाई पहिलो बनाउन निर्वाचन अभियानलाई युद्धस्तरमा अगाडि बढाउनुपर्नेमा जोड दिए ।

अध्यक्ष प्रचण्डले भने, ‘भ्रम चिरियो र सत्य स्थापित भयो भने माओवादीले जित्छ । अरु पार्टीहरुले भ्रमको खेती गरेका छन् । तर, माओवादीले आफूलाई काममा खरो प्रमाणित गरिसकेको छ ।’

अध्यक्ष प्रचण्डले अगाडि भने, ‘हिटलर राष्ट्रवादको नारा दिएर नै जर्मनीको सत्तामा हाबी भयो । नश्लवादी राष्ट्रवादले अन्ततः जाति जातिलाई लडाउँछ र राष्ट्रिय एकतालाई कमजोर बनाउँछ । अन्धराष्ट्रवाद अन्तिममा फासीवादमा बदलिन्छ, नेपालमा पनि यो अभ्यास गर्न खोजिएको छ ।’

माओवादी केन्द्र नश्लवादी, जातिवादी र अन्धराष्ट्रवादी नभएको भन्दै प्रचण्डले आफूहरुले उत्पीडितहरुको बलियो एकतामार्फत राष्ट्रिय एकता र सद्भाव स्थापित गर्न चाहेको बताए ।

अध्यक्ष प्रचण्डले भने, ‘मधेशी राष्ट्रवाद र पहाडे राष्ट्रवादका नाममा हिटलरहरु जन्मन खोज्दैछन् । उनीहरु एउटा जातिलाई काखी च्यापेर अरु जातिमाथि छुरा हान्न खोजिदैछ । त्यो हामीलाई सह्य छैन ।’

आफूहरुले उठाएको जातीय मुक्तिको नारा हिमाल, पहाड र तराई–मधेशका गरीब र उत्पीडितहरुलाई एकताको एउटै सुत्रमा बाँध्ने नारा रहेको भन्दै उनले एमाले र मधेशी दलले लिएजस्तो जातीजाती भिडाउने नारा नभएको दावी गरे ।