प्रयास पराजुली
१७ माघ, काठमाडौं ।
स्थानीय तहको निर्वाचनको मिति घोषणा गर्ने तयारीमा रहेका प्रधानमन्त्री प्रचण्ड पुनः ब्याक भएका छन् । प्रचण्डले मेधसी मोर्चाको माग सम्बोधन नगरी निर्वाचनको मिति घोषणा नहुने बाचा गरेका हुन् । कांग्रेस माओवादी र मधेसी मोर्चाको बैठकमा उनले मोर्चाको माग सम्बोधन नगरी निर्वाचनको मिति घोषणा गर्ने पक्षमा आफू नरहेको विश्वास मधेसी मोर्चालाई दिलाएका छन् ।

माघ १५ गतेभित्र नै स्थानीय तहको निर्वाचनको मिति घोषणा गर्ने प्रतिबद्धता व्यक्त गरेका प्रचण्डले मधेसी मोर्चाको माग सम्बोधन गर्न पुनः दलहरुको बीचमा छलफल गर्ने भएका छन् । मधेसी मोर्चाको माग पूरा गर्नको लागि प्रचण्डले सत्ता पक्ष र प्रतिपक्ष दलसँग छुट्टाछुट्टै वार्ता गरेर सहमति खोज्ने बताएका छन् ।

मोर्चासँग प्रचण्डको बाचा ‘ढुक्क हुनुहोस्’

प्रधानमन्त्री निवास वालुवाटारमा बसेको तीन पक्षीय वार्तामा मधेसी मोर्चाका नेताहरु कडा रुपमा प्रस्तुत भएका थिए । सुरुमै धारणा राख्ने क्रममा संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव, सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले प्रचण्डको कार्यशैलीप्रति मोर्चा सशंङ्कित रहेको बताएका थिए ।

मोर्चाका शीर्ष नेताहरुले सरकारले चुनावको मिति घोषणा गर्न खोजेर नयाँ द्वन्द सृजना गर्न लागेको आरोप लगाएका थिए ।

जवाफमा प्रधानमन्त्री प्रचण्डले मोर्चाका नेताहरुलाई मोर्चाको सहमति विना सरकारले निर्वाचनको मिति घोषणा नहुने प्रतिबद्धता दोहोर्याएको थिए । प्रचण्डको भनाई उदृत गर्दै तराई मधेस सदभावना पार्टीका अध्यक्ष महेन्द्र राय यादवले नेपाली हेडलाइन्ससँग भने,‘तपाईहरु ढुक्क हुनुहोस्, म मोर्चाको सहमति विना निर्वाचनको मिति घोषणा गर्दिन, मोर्चाका माग पूरा गर्न गम्भीर भएर लागेको छु ।’

मोर्चाको नयाँ मागःकेन्द्रपछि मात्र स्थानीय निर्वाचन

सुरुमा सरकारले संसदमा पेश गरेको संविधान संशोधन विधेयक पारित गर्नुपर्ने माग राखेपनि अहिले मधेसी मोर्चाले संविधान संशोधन विधेयक परिमार्जन सहित पारित गर्नुपर्ने नयाँ शर्त अगाडि सारेको छ । मोर्चाले सरकारले तयारी गरेको स्थानीय तहको निर्वाचनले नयाँ द्वन्द सृजना गर्ने भन्दै पहिला केन्द्रको निर्वाचन गर्नुपर्ने बताएको छ ।

अध्यक्ष यादवले भने,‘स्थानीय तह पुनर्संरचना आयोगले बुझाएको प्रतिवेदन मान्य हुन सक्दैन, अहिले स्थानीय तहको निर्वाचनको मिति घोषणा गर्नु हुँदैन, केन्द्र र प्रदेशका निर्वाचन गर्नुपर्छ, प्रदेशले स्थानीय तहको निर्वाचन गराउछ ।’

सहमतिबाटै अगाडि बढौः देउवा

बैठकमा कांग्रेस सभपाति शेरबहादुर देउवाले सहमति कायम गरेर मात्र निर्वाचनको मिति घोषणा गर्ने बताएका थिए । देउवाको भनाई उदृत गर्दै एक नेताले भने, ‘चुनावको मिति घोषणा गरेर मात्र हुँदैन, दलहरुबीच सहमति चाहिन्छ, यसको लागि केही दिन अझै छलफल गरौं ।’ मधेसी मोर्चाको माग सम्बोधन नभई निर्वाचनको मिति घोषणा हुँदैन, देउवाले बैठकमा भनेका थिए ।

दुई दिन सहमतिकै खोजी गर्ने

कांग्रेस माओवादी र मधेसी मोर्चाबीच दुई दिन छलफल गर्ने सहमति भएको छ । बैठकमा प्रचण्डले प्रतिपक्ष दल एमाले र सत्तारुढ दलभित्रै पनि छलफल आवश्यक भएकाले केही दिनभित्र पुनः बैठक बस्ने प्रस्ताव राखेका थिए ।

अब प्रचण्डले प्रतिपक्ष दल एमाले सत्तारुढ दल राप्रपा, फोरम लोकतान्त्रिक लगायतका दलहरुसँग छलफल थाल्ने प्रचण्डको सचिवालयले बताएको छ । मधेसी मोर्चाले आफूहरु पनि थप छलफल गरेर आउने बताएका छन् ।

सरकारले निर्वाचनको मिति घोषणा गरे लगत्तै संसदमा पेश भएको संविधान सशोधन विधेयक अगाडि बढाउने तयारी गरेपनि मोर्चाले अस्वीकार गर्दा तत्काल निर्वाचनको मिति घोषणा नगर्ने मनस्थितिमा सरकार पुगेको छ ।