१३ मंसिर, काठमाडौं ।

तराई मधेसको समस्या समाधानका लागि प्रमुख तीन दल कांग्रेस, एमाले र एमाओवादी समान धारणा असफल भएका छन् । समान धारणा बनाउन नसकेपछि सरकार र मधेसी मोर्चाबीचको वार्ता अन्योलमा परेको छ । २ मंसिरमा सरकार र मधेसी मोर्चाबीच भएको वार्तापछि औपचारिक रूपमा दुई पक्षबीच कुनै छलफल हुन सकेको छैन ।

उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री कमल थापाको नेतृत्वमा गठित सरकारी वार्ताटोलीसमक्ष राखेको मोर्चाले राखेको ११ बुँदे मागबारे प्रमुख दल कांग्रेस, एमाले र एमाओवादीको साझा धारणा आएपछि मात्र अर्को बैठक बस्ने भन्दै सो दिन बैठक टुंगिएको थियो । तर, अहिलेसम्म मधेसका मागबारे प्रमुख तीन दलले साझा अवधारणा बनाउन सकेका छैनन् । त्यसयता ५ मंसिरमा कांग्रेसले प्रमुख दलको बैठक बोलाए पनि सो बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली नै सहभागी भएनन् ।

प्रधानमन्त्री ओलीले मधेस समस्या समाधानबारे साझा धारणा बनाउन भन्दै ६ मंसिरमा सत्तारुढ १६ दल र प्रतिपक्षी कांग्रेसको बैठक बोलाए । उक्त बैठकले साझा अवधारणा बनाउने सैद्धान्तिक सहमति गरे पनि त्यसले ठोस आकार दिन सकेको छैन ।

तीन पार्टीबीच अनौपचारिक छलफलमा मोटामोटी रूपमा समावेशी समानुपातिक प्रतिधित्व र निर्वाचन क्षेत्रबारे संविधान संशोधनका लागि व्यवस्थापिका–संसद्मा पेस भएको विधेयक अगाडि बढाउने, संघीय प्रदेशहरूको सीमांकन फेरबदल नगर्ने, आन्दोलनरत मधेसी मोर्चासहित सामेल रहेको राजनीतिक समिति बनाएर त्यसको सुझाबका आधारमा एक–दुई महिनामा सीमांकन सच्याएर असन्तुष्टि हल गर्ने अवधारणा बनेको एमाओवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठ बताउँछन् । तर, मोर्चाले उधारो कुरा गरेर हुँदैन, सीमांकन अहिले नै परिवर्तन गर्नुपर्छ भनेकाले वार्ताको हलो अड्किएको छ । आजको नयाँ पत्रिकामा खबर छ ।