काठमाडौं, १३ बैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको पहिलो वामपन्थी प्रधानमन्त्री मनमोहन अधिकारीले राष्ट्रिय स्वाधीनता र वामपन्थी एकतामा महत्वपूर्ण योगदान दिएको बताएका छन् ।

अधिकारीको २० औं स्मृति दिवसका अवसरमा मनमोहन स्मृति प्रतिष्ठानले शुक्रबार सानेपास्थित प्रतिष्ठान परिसरमा गरेको कार्यक्रममा प्रधानमन्त्री ओलीले वर्तमान सरकार स्वर्गीय अधिकारीका अधूरा सपना पूरा गर्न लागि परेको बताए । अधिकारीको शालिकमा माल्यार्पण गर्दै प्रधानमन्त्री ओलीले अधिकारीले वामपन्थी पार्टी सरकारमा पुग्दा कसरी सरकार चलाउँछन् भन्ने देखाएको बताए ।

अधिकारीले ‘आफ्नो गाउँ आफैँ बनाऊँ’ भन्ने नाराका साथ नागरिकमा विकासको भोक जगाएको उनको भनाइ थियो । सामाजिक सुरक्षा र कानूनी राज्य स्थापनाका लागि अधिकारी नेतृत्वको सरकारले उल्लेखीय काम गरेको बताउँदै उनले भने, ‘चुनौतीका बीचमा पनि उहाँले गर्नुभएको काम निकै महत्वपूर्ण थिए ।’ कार्यक्रममा पूर्वप्रधानमन्त्री झलनाथ खनाल, रक्षामन्त्री ईश्वर पोखरेल, नेता वामदेव गौतम, नारायणकाजी श्रेष्ठ, पम्फा भुसाललगातत उपस्थित थिए । पूर्वप्रधानमन्त्री अधिकारीको विसं २०५६ वैशाख १३ गते निधन भएको थियो ।