१३ साउन, काठमाडौं ।

भौतिक योजना तथा यातायातमन्त्री विरबहादुर बलायरले अबदेखि सडकमा खाल्डाखुल्डीहरुको सास्ती सर्वसाधारणहरुले भोग्न नपर्नेे बताएका छन् ।

उनले भने, ‘सडकका खाल्डाखुल्डीहरु पुर्नको लागि प्रधानमन्त्रीले निर्देशन दिएपछि अहिले धमाधम काम भैरहेको छ, मैले पनि मन्त्रालयमा आउने वित्तिकै सम्बन्धित निकायलाई यसबारेमा निर्देशन दिईसकेको छु ।’

रिपोर्टर्स क्लबले गरेको कार्यक्रममा बोल्दै नवनियुक्त मन्त्री बलायरले मेलम्ची खानेपानी आयोजनाका कारणले काठमाडौंका सडकहरुमा खाल्डाखुल्डीहरु भएका र धुलाम्य भएको बताए ।

उनले भने, ‘अब यसको लागि पनि हामीले विकल्प सोचिसकेका छौं, बताईज अनुसार काम भैरहेको छ, अहिले नै खाल्डाखुल्डीहरु पुर्ने र यी समस्याहरु कसरी समाधान गर्ने भन्नेबारे गृहमन्त्रीसँगपनि छलफल भैरहेको छ।’

त्यस्तै उनले आफूले दैनिक १५ घण्टा काम गर्ने भनेर सार्वजनिक प्रतिबद्धता जनाएअनुसार पछिल्ला दुई दिनमै आफूले गरेको प्रतिबद्धता अनुसार त्यो भन्दापनि बढि नै १६ घण्टासम्म काम गरिसकेको दाबी गरे । बलायरले भने, ‘अब मेरो स्पिरिटमा कर्मचारीले पनि काम गर्नुपर्छ ।’

उनले आफूलाई कुनै विलासिताबारे सोख नभएको समेत जिकिर गरे । उनले भने, ‘म त मन्त्रीको सपथग्रहण गर्न जाँदापनि सार्वजनिक यातायात चढेर गएको थिएँ, त्यसैले मलाई यस्तो विलासिताको बारेमा कुनै सोख छैन, जीवनको अधिकांश समय संघर्षमा विताएको र हत्केलामा मृत्युलाई राखेर हिँडेको मान्छे हुँ, त्यसैले मेरो पूरा ध्यान भनेको नै विकास हो, र जनतालाई कसरी सम्पन्न गर्न सकिन्छ भन्ने नै हो ।’