१६ चैत, काठमाडौँ।

भौतिक पूर्वाधार एवम् यातायात व्यवस्थामन्त्री रमेश लेखक र नेपालका लागि भारतका राजदूत मन्जिभसिंह पुरीबीच आज भेटवार्ता भएको छ ।

सिंहदरबारस्थित मन्त्री लेखकको कार्यकक्षमा भएको भेटवार्तामा उनिहरुबीच दुई देशबीचको सम्बन्ध, अन्तरदेशीय यातायात सञ्जाल विस्तार र भारतीय सहयोगमा सञ्चालित आयोजनाका बारेमा केन्द्रित रहेर छलफल भएको थियो ।

सो अवसरमा मन्त्री लेखकले दुई देशबीच उच्चस्तरको भ्रमणका बखत सहमति भएका परियोजना निर्माणलाई नेपाल सरकारले प्राथमिकता दिएर काम गरेको जानकारी गराएको मन्त्रालयले जनाएको छ । भारतले सडक, विद्यालय भवन, स्वास्थ्य संस्था, विद्युत्जस्ता पूर्वाधार र तटबन्ध निर्माणका क्षेत्रमा नेपाललाई विशेष रुपमा सहयोग पुर्याउँदै आएको छ ।

भारतीय राजदूत पुरीले नेपाल र भारतबीचको सदियौँ पुरानो सम्बन्ध आफ्नो कार्यकालमा थप सुदृढ तुल्याउने विश्वास दिलाउँदै नेपाललाई भारत सरकारले दिँदै आएको सहयोगलाई निरन्तरता दिई थप लगानीका क्षेत्रको पहिचान गर्ने प्रतिबद्धता जनाएका थिए । रासस