२३ पुस, पाल्पा।
इन्जिनियरिङ कक्षा सञ्चालन गर्ने उद्देश्यले पाल्पाको रामपुरस्थित दरैठाटी उच्च माविद्वारा सञ्चालित श्रीमद्भागवत् कथा प्रवचन तथा धनधान्याञ्चल ज्ञानमहायज्ञमा आजसम्म रु दुई करोड ४३ लाख ४१ हजार ७१८ सङ्कलन भएको छ । महायज्ञमा नगद दानभन्दा जग्गा दान गर्ने बढी रहेका छन् ।

रामपुर नगरपालिका–९, विजयपुरका ज्ञाननाथ आचार्य, दुर्गाप्रसाद आचार्य र यज्ञप्रसाद आचार्यको परिवारबाट सबैभन्दा बढी रु ४० लाख ५० हजार मूल्य बराबरको जग्गा दान गरिएको छ ।

विसं २०२२ मा तत्कालीन रामपुर– ८ सानीअमराईमा रहेको दरैठाँटी उमावि २०३२ सालमा विजयपुरका आचार्य परिवारले आफ्नै जग्गा दिएर विद्यालय खडा गर्न सहयोग रेको महायज्ञ मूल आयोजक समितिका संयोजक कृष्णप्रसाद अर्यालले जानकारी दिए ।

रामपुर प्याक्लुकका कृष्णप्रसाद अर्याल र रानीवास विद्यालयका पूर्व विद्यार्थी इन्जिनियर अरुण अर्यालले संयुक्त रुपमा रु २५ लाख २५ हजार ५५५ बराबरको जग्गा तथा रामपुर विजयपुरका ढालबहादुर थापा, श्यामबहादुर थापा, हेमबहादुर थापा र रमणबहादुर थापा परिवारले रु १२ लाख ७५ हजार १०१ मूल्यको जग्गा दान गरेका छन् ।

त्यसैगरी, विजयपुरका बोधराज भण्डारीले रु ११ लाख ११ हजार १११ मूल्य बराबरको जग्गा, रामपुर– ९ का विष्णुप्रसाद भट्टराईले रु १० लाख एक हजार १११, रामपुर मैदानबारीका खेमराज ढुङ्गानाले रु सात लाख २१ हजार एक दान गरेका छन् ।

महायज्ञमा पाल्पा, स्याङ्जा, तनहुँ, नवलपरासी, गुल्मी, अर्घाखाँची, बुटवल, काठमाडौँ, चितवन, पोखरालगायतका स्थानबाट कथा श्रवण गर्न र दान गर्न श्रद्धालु भक्तजन आएको विद्यालयका प्राचार्य सुन्दरप्रसाद देवकोटाले बताए । रासस