२२ मंसिर, काठमाडौँ।

सभामुख ओनसरी घर्तीले महिलाहरुले आफूलाई दिएको सम्मानले जिम्मेवारी बढाएको बताएकी छिन ।

राष्ट्रिय महिला आयोगले आज गरेको सम्मान÷शुभकामना एवम् ‘अग्रज महिला’ पुस्तक विमोचन कार्यक्रममा सभामुख घर्तीले राष्ट्रिय महिला आयोग वैधानिक आयोग भएकोले महिलाका मुद्दामा लाग्न र उद्देश्यमा पुग्न थप प्रयास जारी राख्ने विश्वास व्यक्त गरिन ।

उनले महिलाले आफूलाई जिम्मेवारी दिएर पठाएकाले महिलाका मुद्दामा लड्न आफू जिम्मेवार भएको बताइन।

उपप्रधानमन्त्री तथा महिला, बालबालिका तथा समाजकल्याण मन्त्री सिपी मैनालीले नयाँ सविधानले महिलाकाबारेमा सुनिश्चित गरेका कुरा सकारात्मक भएपनि त्यो पूर्ण भने नभएको बताए । महिलाका बारेमा समेट्नुपर्ने कुरा सविधानमा थप्दै र संशोधन गर्दै लैजानुपर्ने धारणा राखे ।

महिलालाई मूलप्रवाहमा ल्याई सक्षम बनाउने कुरा ठूलो चुनौती भएको बताउँदै मन्त्री मैनालीले ती चुनौतीलाई पूरा गर्ने मूख्य जिम्मेवारी राजनीतिक पार्टीको भएको बताए ।

महिलाले उठाएका मुद्दालाई सरकारले गम्भीररुपमा लिएको बताउँदै सरकारलाई घच्घच्याउने दायित्व महिला आयोगको भएको बताए । केही उपलब्धी पाएकोमै सन्तुष्ट नहुन सचेत गराउँदै मन्त्री मैनालीले आफ्ना माग पूरा गराउन र भएका कुरा कार्यान्वयन भएकि भएनन् भनी अनुगमन गर्ने कार्य महिला आयोगको भएको स्पष्ट पारे ।

एक फरक प्रसङगमा बोल्दै मन्त्री मैनालीले मधेसमा आन्दोलनरत दललाई आफ्नो आन्दोलन शान्तिपूर्ण रुपमा गरी नाका सहजरुपमा सञ्चालनका लागि सहयोग गर्न आग्रह गरे । उनले भने—‘संघीयतामा जाने धेरै विकल्प भएकोले ती कुरा छलफल र वार्ताका माध्यमबाट खोजिनुपर्छ ।’ उनले मधेसका समस्या उच्चस्तरीय संयन्त्र बनाई खोज्नुपर्ने उल्लेख गर्दै अधिकार माग्ने कुरा जायज भएपनि मुलुकलाई अप्ठेरोमा पार्नु गलत भएको विचार राखे ।

आयोगले नेपालमा विभिन्न क्षेत्रमा योगदान पुर्याएका अग्रज महिलाको जीवनी समेटिएको पुस्तक पनि प्रकाशित गरेको छ । आयोगकी कार्यवाहक अध्यक्ष मनु हुमागाँईले अग्रज महिलाले गरेका कार्य र उपलब्धिका कारण महिलालाई आफ्ना हकअधिकारका लागि लड्न पुस्तकले थप मद्दत पुग्ने विश्वास व्यक्त गरिन ।

उनले पुस्तकले आफ्नो लक्ष्यमा पुग्न विभिन्न संघर्ष गर्दै राजनीतिक, सामाजिक, शैक्षिक, आर्थिक, सांस्कृतिक व्यवस्थापकीय तथा प्रशासनिक क्षेत्रमा सफलता हासिल गरेका महिलाको जीवनीले वर्तमान महिलालाई प्रेरणा पुग्ने बताइन। रासस