१५ माघ, बैतडी।
यस वर्ष बैतडीमा मह उत्पादनमा ४० प्रतिशतले कमी आएको छ ।

जिल्ला कृषि विकास कार्यालयका अनुसार माहुरीमा देखिएको रोग र बढ्दो चिसोले गत वर्षको तुलनामा यो वर्ष मह उत्पादनमा ४० प्रतिशतले कमी आएको हो । गतवर्ष जिल्लामा झण्डै ४६ मेट्रिकटन मह उत्पादन भएको थियो ।

जिल्ला कृषि विकास कार्यालयका योजना अधिकृत कर्ण वहादूर चन्दले यस वर्ष जिल्लामा २८ मेट्रिक टन मह उत्पादन भएको जानकारी दिए ।

जिल्लामा मह उत्पादन घटे पनि मौरीपालक व्यवसायी भने बढेका छन् । अन्य कृषि व्यवसाय पनि गर्न सकिने र खासै मेहनत पनि नपर्ने भएकाले पछिल्लो समय जिल्लामा माहुरी पालन गर्ने कृषकको सङ्ख्यामा समेत वृद्धि भएको हो । बैतडीका माहुरीपालक किसानहरुले सेरेना जातका माहुरीपालन गरेका छन् । जिल्लाका विभिन्न गाविसमा आधुनिक र मुडे घार गरी झण्डै १२ हजार घार रहेको बताइएको छ । रासस