१६ असोज, कास्की ।

पेट्रोलियम पदार्थ आयातमा भएको अवरोधले कास्कीको सिल्दुजुरेमा निर्माणाधीन माथिल्लो मादी जलविद्युत् आयोजनाको निर्माण कार्य बन्द भएको छ ।

आयोजना निर्माणका लागि चाहिने पेट्रोलियम पदार्थ, सिमेन्ट, छडलगायतका सामग्री आपूर्र्ति हुन नसकेपछि २५ मेगावाट क्षमताको माथिल्लो मादी जलविद्युत् आयोजनाको निर्माण कार्य ठप्प भएको हो ।

आयोजना निर्माणका लागि दैनिक पाँच हजार लिटर पेट्रोलियम पदार्थ चाहिन्छ । आयोजनाका सहायक परियोजना संयोजक राजकुमार बरालले भन्नुभयो – “सञ्चय गरिराखिएका इन्धन पनि सकिएपछि निर्माण कार्य ठप्प भयो । छ सय कामदार त्यसै बसेका छन् ।”

Uper madi

आयोजनाका लागि ल्याइएका सिमेन्ट, छडलगायतका सामग्री बोकेका ट्रक पनि भन्सारमै रोकीएका छन् ।

एक वर्षअघि नै निर्माण सकिने भएपनि आयोजनामा गएको पहिरो र भूकम्पका कारण सुरुङ्मार्ग पुनःनिर्माण गर्नुपर्ने भएपछि ढिलाइ भएको हो । “अहिले फेरि निर्माण सामग्री नआएपछि समस्या परेको छ,” आयोजनाका निर्देशक विजयबाबु मल्लले भने ।

अहिले ८२ प्रतिशत काम पूरा भएको यो आयोजना एक वर्षभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।

आयोजनामा बाँधको ९५ प्रतिशत काम सकिएको छ भने विद्युत् गृह निर्माणपछि टर्वाइन जोड्ने काम बाँकी छ । त्यस्तै चार सय दुई मिटर सुरुङ् मार्ग खनिसकेर कङ्क्रिट लाइनिङको काम थालिएको छ ।

कास्कीकै सबैभन्दा ठुलो २५ मेगावाटको अपर मादी जलविद्युत् आयोजना नेपाली र चाइना थ्री गर्जेजसँग आवद्व चाइना इन्टरनेसनल वाटर इलेक्ट्रिक कर्पोरेसनको संयुक्त लगानीमा निर्माणधीन छ ।

तीन वर्षअघि सुरु गरिएको यो आयोजनामा तीन सय चिनियाँ कार्यरत छन् । रासस