२१ वैशाख, काठमाडौं ।

नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले दोस्रो चरणको निर्वाचनमा अझै अन्योल रहेको बताएका छन् ।

नेपाल पत्रकार महासङ्घ, काठमाडौँ शाखाको नवनिर्वाचित कार्यसमितिलाई पदभार हस्तातरण तथा पुराना कार्यसमितिलाई बिदाइ कार्यक्रममा आज उनले निर्वाचनले सकारात्मक सन्देश दिए पनि अहिलेसम्म दोस्रो चरणको निर्वाचनबारे तयारी नगर्दा अन्योल रहेको बताए ।

उनले पहिलो चरणको निर्वाचन र दोस्रो चरणको निर्वाचनबीच एक महिना लामो समय राख्न नहुने भन्दै जेठ १२ गतेभित्रमा दोस्रो चरणको निर्वाचन हुनुपर्ने बताए । जेठ १५ गते बजेट आएपछि निर्वाचन हुने आफूहरुलाई मान्य नहुने उनको भनाइ थियो ।

नेता नेपालले मधेसी मोर्चाको एक घटक सङ्घीय समाजवादी फोरम निर्वाचनमा आएकोमा खुशी लागेको भन्दै लोकतन्त्रप्रति फोरमका अध्यक्ष उपेन्द्र यादवले प्रतिबद्धता देखिएको बताए ।