कुशल श्रेष्ठ

पृथ्वीका अधिकांश प्राणीहरूको तुलनामा, हामी मानवजातीको कतिपय व्यवहार यस्ता हुन्छन् जसले हामी आफैलाई विनाशको बाटोतर्फ धकेलिरहेको हुन्छ। यस्ता बानी तथा व्यवहारले आफ्नो मात्र नभई सारा मानवजातीकै अस्तित्वमा प्रत्यक्ष प्रभाव पारिरहेको हुन्छ।

मानवजातीका ५ विनाशकारी व्यवहारहरूः

१. झूट बोल्ने

मानिसहरू किन झूट बोल्छन्, यो कसैलाई थाहा छैन। तर विज्ञानले के भन्छ भन्दा यो स्वाभाविक प्रक्रिया हो र यसले मानिसको मनोवैज्ञानिक स्थितिको बारेमा सङ्केत गरेको हुन्छ।

मनोवैज्ञानिक रोबर्ट फेल्डम्यान भन्छन्, “आफ्नो आत्म-सम्मानको लागि मानिसहरू झूट बोल्छन्। जब मानिसहरूले आफ्नो आत्म-सम्मानमा आँच आएको महशुस गर्छन्, तब झूट बोल्न सुरु गर्छन्।”

उनले गरेको एक अनुसन्धानबाट ६०% व्यक्तिले हरेक १० मिनेटको अन्तरमा कम्तीमा पनि १ चोटि झूट बोल्छन् भनेर पत्ता लागेको थियो।

फेरि झूट बोल्नु सजिलो काम पनि होइन। एक अनुसन्धानले सत्य कुरा बोल्नभन्दा झूट कुरा बोल्न ३०% बढि समय लाग्छ भनेर प्रमाणित गरेको थियो।

२. हिंसा

मानव इतिहासको हरेक पान्नामा ‘हिंसा’ भेटिन्छ। यसैबाट अनुसन्धानकर्ताहरूले ‘हामी हिंसा मन पराउँछौँ र हिंसा भनेको हाम्रो वंशाणुगत गुण हो’ पनि भनेका छन्। तथापी, लाखौँ वर्ष अगाडिका प्राचीन मानवसभ्यतालाई हेर्ने हो भने तिनीहरू हामीभन्दा शान्त थिए भनेर पनि प्रमाण भेटिन्छ।

सन् २००८ मा भएको एक खोजले के भन्छ भन्दा मानिसले जसरी यौन, खाना र ड्रगलाई मन पराउँछन् त्यसरी नै हिंसा मन पराउँछन्। त्यसैले गर्दा सभ्यताको प्रारम्भिक कालहरूमा मानिसले खेलको रूपमा एक-अर्काको हत्या गर्ने गर्थे र दर्शकहरू रगताम्य दृश्य हेरेर रमाइलो मान्थे।

३. चोरी

मानिसको इच्छा र चाहनाले परम सीमा नाघेपछि चोरी गर्न थाल्दछन्। तर कतिपय यस्ता पनि हुन्छन्, जसले रमाइलोको लागि चोरी काम गर्छन्। ४३ हजार जनाको सहभागीमा भएको एक खोजमा ११% ले कम्तीमा पनि १ चोटि कसैको सामान चोरेको खुलासा गरेका थिए।

तथापी, मनोवैज्ञानिकहरू भन्छन्- चोरी गर्नु हाम्रो वंशाणुगत गुण हो। बाँदरहरूले पनि त चोर्छन्। बाँदरले हाम्रो सामान मात्रै होइन, आफ्नै प्रजातीको सामान पनि चोर्ने गर्छन्।

४. नराम्रो बानी

हरेक मानिसको आ‍-आफ्नै बानी हुन्छ, जसलाई चाहँदा चाहँदै पनि छुटाउन गाह्रो पर्दछ। कसैको धुम्रपान, मद्यपान, जुवातास अनि लागूऔषध दुर्व्यसन जस्ता घातक बानी हुन्छ भने कसैको सामान्य बानी हुन्छ जस्तै; आँखा चिमचिम गर्ने, खोक्ने, लामो सास फेर्ने, आदि।

“हामीलाई थाहा हुन्छ कि यो नराम्रो बानी हो, तै पनि हामी केवल अहिलेको वास्ता गर्छौँ। पछि के हुनेछ भनेर कसैले पनि सोँच्दैनन्।”, युनिभर्सिटी अफ अल्बर्टाका मनोवैज्ञानिक ‘सिन्डी जार्डिन’ले भनिन्।

उनी भन्छिन्, “मानिसहरू आफ्नो नराम्रो बानीको लागि नचाहिने बहाना पनि बनाउने गर्छन्- ‘यसले मलाई अझसम्म असर गरेको छैन’, ‘मेरा बा’ले जिन्दगी भरी चुरोट पिउनुभयो तैपनि ९० वर्ष बाँच्नुभयो’।”

५. तनाव

तनाव एकदमै घातक हुन्छ, जसले मुटुको समस्या निम्त्याउँछ, क्यान्सर समेत हुन सक्छ। अनि तनावले डिप्रेसन निम्त्याउँछ, जसले आत्महत्याको सम्भावना बढाउँछ। तर, मानिसहरूमा तनावकको समस्या किन आउँछ भन्ने रहस्य अझसम्म खुल्न सकेको छैन।

हो, थकान अनि असफलताले गर्दा मानिसले धेरै तनाव लिने गर्छन्, तर के तनाव लिएर सफलता पाउने हो र?

विश्वभरीमा करीब ६० करोड मानिसहरूले हप्तामा ४८ घण्टा भन्दा बढि कार्यालयको काम गर्छन्। त्यसमाथि आजभोली स्मार्टफोन अनि इन्टरनेटले गर्दा घरमै बस्दा पनि कार्यालयमा बसेको जस्तै हुन्छ। यस्तो गतिविधिले मानिसले कहिल्यै पनि आराम गर्न पाइराखेका छैनन्। हरेक कुराले तनाव बढाइरहेको हुन्छ।

यस्तो बेलामा तनाव र थकानलाई हटाउने एउटै उपाय भनेको नियमित व्यायाम र पर्याप्त निन्द्रा नै हो भन्छन् स्वास्थ्य विज्ञहरू।

यो पनि हेर्नुहोस्-
५ बानी जसले तपाईँलाई असफलतातर्फ धकेल्दछ
सफलता पाउन स्टिभ जब्सबाट सिक्नै पर्ने ५ सिद्धान्त
सफलताका सूत्र, जुकरबर्गका ७ टिप्स
धेरै सुत्ने बानीले निम्त्याउने ६ समस्या
सबेरै मर्निवाङ गर्ने बानी छ त्यसो भए सावधान !