२९ फागुन, बाग्लुङ ।
अशक्त र बेसहारा नागरिकको संरक्षणका लागि यहाँ मानव सेवा आश्रम खुल्ने भएको छ ।

आश्रम सञ्चालनका लागि बाग्लुङ नगरपालिका–३ मा पूर्वाधार तयारीको काम अघि बढेको छ । आउँदो वैशाख १ गतेदेखि सेवा सुरुआत गरिने स्थानीय व्यवस्थापक ‘सेभ द युथ’ बागलुङले जनाएको छ ।

आश्रममा मनोरोग, अपाङ्गता, गरिबीजस्ता कारणले सहाराविहीन बनेका नागरिकलाई आश्रय दिइने आश्रमका संयोजक मनिष रायमाझीले बताए । “विभिन्न कारणले घरपरिवार र समाजबाट अपहेलित भएर सडकमा पुगेका नागरिकको संरक्षण गर्ने आश्रमको उद्देश्य हो”, रायमाझीले भने । उनका अनुसार त्यस्ता नागरिकलाई आश्रममा सुरक्षित आवाससँगै शिक्षा, स्वास्थ्यजस्ता आधारभूत सेवा उपलब्ध गराइनेछ । रासस