बलिउडकी चर्चित नायिका प्रियंका चोपडाको करिअर मिस इन्डिया प्रतियोगिताबाट सुरु भएको थियो। युवतीहरुको लागि यो जिन्दगी बदल्न सक्ने प्रतियोगिता हो।

भारतमा अहिले मिस इन्डियाको ५६ औँ श्रृखंला चल्दै छ। यसको फाइनल १५ जुनमा हुनेछ। प्रतियोगितामा भाग लिने ३० जना युवतीको तस्विर अहिले सामाजिक सञ्जालमा विवादको विषय बनेको छ। भारतको विविधताको बावजुद प्रतियोगितामा एउटै रंगको छाला भएका युवती छानिएको भन्दै विवाद खडा गरिएको हो।

यो तस्विर ‘द टाइम्स अफ इन्डिया’ले प्रकाशित गरेको थियो। यो अखबार प्रतियोगिता आयोजनाकर्ता समूह कै हो।

प्रतियोगिताकी ग्रुमिङ एक्सपर्ट शमिता सिंहले बीबीसीलाई दिएको अन्तर्वार्तामा भने यी तस्विरहरु रिटच गरिएकाले यस्तो देखिएको बताउँछिन्। फोटोसप टिमसंग प्रतियोगीहरुको रंग नबदल्न भनिएपनि पत्रिकामा छाप्दा प्रिन्टको कारण यस्तो देखिएको उनले बताइन।

तापनी सामाजिक सञ्जालमा सेयर गरिएका अन्य तस्विरहरुमा पनि यी प्रतियोगीहरु उस्तै रंगका देखिन्छन्। मेकअपका कारण यस्तो देखिएको भन्ने पनि कम छैनन्।

हेर्नुस यो तस्विर,

सन् १९९० को दशक पश्चात ब्युटी पेजेन्ट अर्थात सौन्दर्य प्रतियोगिता भारतमा ठूलो व्यापार बनेको छ। मिस इन्डिया बनेर बलिउड छिरेका ऐश्वर्या राय, सुष्मिता सेन, प्रियंका चोपडाको कारण पनि यो व्यापार फस्टाएको हो।