६ मंसिर, काठमाडौं ।

केहि दिनयता अस्पतालमा मुटु जाँच गराउने संख्या बढ्दो छ । हृदयाघातका कारण आकस्मिक मृत्यु हुने घटना बढ्न थालेपछि मुटु जाँच गराउनेको संख्या बढेको चिकित्सकहरू बताउँछन् ।

वीर अस्पतालमा दुई दिनयता मुटु जाँच गराउनेको संख्या २५ प्रतिशतले बढेको अस्पतालका मुटुरोग विशेषज्ञ प्रकाशराज रेग्मीले बताए । कुनै पनि समस्या नभएका मानिससमेत मुटु चेकजाँच गराउन अस्पताल आउने गरेको रेग्मीले बताए । ‘मोबाइलमा फोन गरेर पनि धेरैले जिज्ञासा राख्न थाल्नुभएको छ,’ रेग्मीले भने ।

सहिद गंगालाल राष्ट्रिय हृदयरोग केन्द्रका मुटुरोग विशेषज्ञ डा. रामेश कोइराला पनि पछिल्ला केही दिनयता मुटु चेकअप गराउनेको संख्या बढेको बताउँछन् ‘आकस्मिक मृत्यु हुने कारण हृदयघात मात्र नभएर अन्य पनि हुन सक्छ । त्यसैले नियमित रूपमा स्वास्थ्य चेकजाँच गराउनु पर्छ,’ उनले भने । आजको नयाँ पत्रिकामा खबर छ ।

निर्वाचन नजिकिएसँगै जिल्ला बाहिरबाट अस्पताल आउने बिरामीको संख्या घटेको उनले बताए । ‘तर, डर र त्रासको कारण मुटु चेक गराउनेको संख्या बढ्दो छ,’ कोइरालाले भने । उनले साधारण समस्या देखिनासाथ बिरामीहरू अस्पताल धाउने गरेको बताए । ‘छाती दुख्यो, मुटु दुखेजस्तो लाग्यो, मुटुको धड्कन बढ्यो भन्नेजस्ता समस्या लिएर अस्पताल आउनेको संख्या बढ्दो छ । यसरी आत्तिएर आउनेभन्दा पनि नियमित रूपमा मुटु जाँच गराउने बानी बसाल्नुपर्छ,’ उनले भने ।

धुलिखेल अस्पतालका मुटुरोग विशेषज्ञ प्रा. डा. राजेन्द्र कोजूले पनि अस्पतालमा मुटु जाँच गराउनेको संख्या बढेको बताए । आकस्मिक मृत्युका घटना बढेसँगै आममानिस सचेत भएर अस्पताल पुगेको डाक्टर कोजूको धारणा छ । ‘हाम्रो अव्यवस्थित जीवनशैली, खानपानको कारणले मुटुरोगीको संख्या बढेको छ,’ डा. कोजूले भने, ‘डरत्रासका कारण भन्दा पनि मुटु चेकअप गर्नुपर्छ भन्ने सोच लिएर अस्पताल जानुपर्छ ।’

त्यस्तै, नर्भिक अस्पतालका मुटुरोग विशेषज्ञ जेपी जैसवालले मुटु चेकअप गराउन अस्पताल पुग्नेको संख्या बढेको बताए । जाडो मौसम भएको कारण पनि अस्पतालमा मुटु चेकजाँच गराउनेको संख्या बढेको हुन सक्ने डाक्टर जैसवालले बताए । मनमोहन कार्डियोभास्कुलर सेन्टरका मुटुरोग विशेषज्ञ डा. भगवान् कोइराला पनि मुटु जाँच गराउनेको संख्या बढेको बताउँछन् ।

युवावस्थाका मानिसमा हृदयाघात बढ्दो छ । व्यस्त जीवन, अव्यवस्थित खानपान, तनाव, व्यायामको कमीजस्ता कारणले आकस्मिक हृदयाघात बढेको चिकित्सकहरू बताउँछन् । विश्व स्वास्थ्य संगठन र नेपाल सरकारले २०१३ मा गरेको एक अनुसन्धानले नेपालमा २० प्रतिशतभन्दा बढी युवा आकस्मिक हृदयाघातको जोखिममा छन् । विश्वमा हुने मानव मृत्युको २५ देखि ३५ प्रतिशत कारण हृदयाघात रहेको छ ।