१४ पुस, नयाँ दिल्ली ।

भारतको मुम्बई सहरको एक भवन मङ्गलबार बिहान भत्किदा त्यसभित्र कम्तीमा पनि १२ व्यक्ति पुरिएको आशङ्का गरिएको एक बरिष्ठ प्रहरी अधिकारीले बताएका छन् ।

भिवान्डी इलाकामा रहेको सो भवन स्थानीय समयाअनुसार मङ्गलबार बिहान ५ बजे भत्किएको तर हालसम्म मानवीय हताहतीको भने कुनै समाचार नभएको पनि ती प्रहरी अधिकारीले बताएका छन् ।

तर भवनमा भग्नावशेषमा च्यापिएर रहेका व्यक्तिहरुको उद्धारको कार्य भइरहेको पनि उनले जानकारी दिएका छन् । तर स्थानीय टेलिभिजन च्यानलले भने यस दुर्घटनाबाट केही व्यक्तिलाई उद्धार गरी उपचारार्थ अस्पताल लगिएको र ती मध्ये पनि केहीको अवस्था गम्भीर भएको जानकारी दिएको छ ।

यस समाचारको आधिकारीक रुपमा पुष्टि नभएको बताइएको छ । छत्तिसगढमा रहेको एक भवन भत्किदा ६ कामदारको मृत्यु हुनुको साथै अन्य १२ घाइते भएका घटनाको एक दिनपछाडी पुनः यो घटना भएको बताइएको छ ।

भारतमा भवन भत्किएर सर्वसाधारणको मृत्यु हुने एक साधारण घटनाको रुसमा रहेको पाइन्छ । रासस ÷सिन्ह्वा