२३ माघ, काठमाडौं । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले नेपाल अहिले राजनीतिक र संवैधानिक हिसाबले अत्यन्तै महत्वपूर्ण मोडमा रहेको बताएका छन ।

नेपाली काँग्रेस काठमाडौँ क्षेत्र नं. २ द्वारा शनिबार पेस्पीकोलामा आयोजित विविध साँस्कृतिक कार्यक्रम एवम् सभालाई सम्बोधन गर्दै उनले संविधानले परिकल्पना गरेअनुसार तीनवटै तहको निर्वाचनपछि मात्र लोकतन्त्रले स्थायित्व प्राप्त गर्ने बताए ।

“काँग्रेसकै नेतृत्वमा राजनीतिक परिवर्तनका लागि भएका हालसम्मका सबै आन्दोलनले सफलता पाएका छन्, अब तीनवटै निकायको चुनाव पनि काँग्रेसकै नेतृत्वमा हुनेछ,” उनले भने ।

नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले राजनीतिक सङ्क्रमण छिटो अन्त्य गरी मुलुकलाई समृद्धितर्फ लैजान काँग्रेस दृढ रहेको बताए । मुलुकलाई राजनीतिक गतिरोधबाट निकास दिन सकेसम्म स्थानीय तहको निर्वाचन आवयक भएको उनको भनाइ थियो । सो कार्यक्रममा विविध साँस्कृतिक कार्यक्रमको आयोजना गरिएको थियो ।