५ मंसिर, मुस्ताङ ।

स्याउको राजधानी भनेर चिनिने मुस्ताङको दुई गाविसबाट स्याउको बोट पूर्णरुपमा लोप भएका छन् ।

जलवायु परिर्वतनको असरस्वरुप तल्लो क्षेत्रको लेते र कुञ्जो गाविसमा करिब छ वर्षदेखि स्याउ उत्पादन हुन नसकेको हो । यसलाई विज्ञहरुले जलवायु परिर्वतनको टड्कारो असर आधार भनेका छन् । केही वर्षअघिसम्म म्याग्दी र मुस्ताङको सिमाना घासासम्म स्याउ फल्ने भए पनि अहिले दुवै गाविसमा बोटसमेत हुर्कन नसक्ने अवस्थामा पुगेको जिल्ला कृषि विकास कार्यालय मुस्ताङका योजना अधिकृत तप्तबहादुर गुरुङले बताए ।

Apple tree

“त्यहाँका स्याउ उत्पादक किसान अहिले एकदमै चिन्तित छन्, कुनै समय स्याउको पकेट क्षेत्र मानिने ती क्षेत्र अहिले सुनसान छ”, उनले भने – “हावापानी अनुकूल नभएपछि बोटसमेत राम्ररी हुर्कन सकेको छैन ।” विश्वव्यापीरुपमा बढ्दो औद्योगीकरणसँगै बढेको तापक्रमका कारण हिमाली क्षेत्रमा हिउँको मात्रा घट्दै जाँदा त्यसको प्रत्यक्ष असर स्थानीयस्तरमा देखिन थालेको विज्ञहरुले बताएका छन् ।

जिल्ला कृषि विकास कार्यालयले मार्फा, टुकुचे, जोमसोम, कागबेनीलगायतका गाविसलाई मात्रै स्याउ उत्पादनका दृष्टिले पकेट क्षेत्र मानेको छ । कार्यालयका वरिष्ठ कृषि विकास अधिकृत सावित्री बरालले हिमाली क्षेत्रमा जलवायु परिर्वतन मुख्य समस्याको रुपमा रहेको बताए ।

“केही वर्षसम्म उपल्लो मुस्ताङमा अत्यधिक चिसोका कारण स्याउको बिरुवा हुर्कन सक्दैन्थे, तर अहिले फलसमेत दिन थालेको छ”, उनले भने – “तल्लो क्षेत्रमा लोप हुँदै उपल्लो क्षेत्रमा उत्पादन हुने अवस्था देखिएको छ ।” उपल्लो क्षेत्रको चर्राङ, घमी र लोमान्थाङ गाविससमेत स्याउ उत्पादन हुन थालेको कार्यालयले जनाएको छ । रासस