२ असोज, काभ्रे।

एकीकृत नेकपा माओवादीका नेता डा. बाबुराम भट्टराईले अहिलेको संविधान निर्माणको काम सम्पन्न भएकोमा आफू मूल रुपमा खुशी भएको स्पष्ट गर्दै आशिंक रुपमा चाहिँ अझै पनि नाचगान गर्ने बेला भइनसकेको बताएका छन् ।

Dhurmus-Suntali Basti Abalokan Baburam Bhattarai (5)

‘पहिलो संविधानसभाबाट संविधान बनाउन नसके पनि त्यसबाट पाठ सिक्दै दोस्रो संविधानसभाबाट हामीले संविधान बनाएका छौं । हिजो (शुक्रबार) सम्पूर्ण काम सम्पन्न भएको छ र भोलि (आइतबार) औपचारिक ढंगले जारी हुन्छ । यो नेपाली युगीन परिवर्तनको संघार भएको हुनाले यसमा मलाई अत्यन्त गर्व र खुशीको अनुभुति छ’, काभ्रे पाँचखालको पहरीगाउँमा हास्य कलाकार सिताराम कट्टेल र कुञ्जना घिमिरेको पहलमा बनेको धुर्मुस–सुन्तली एकीकृत नमुना बस्तीको अवलोकन गर्ने क्रममा सञ्चारकर्मीसँगको कुराकानीमा नेता भट्टराईले भने – ‘तर यसको सँगसँगै म के पनि जोड्न चाहन्छु भने नेपालको एउटा ठूलो हिस्सा तराई–मधेश, थारु र जनजातिका कैयौं मुद्दाहरु सम्बोधन नभएको हुनाले त्यहाँ अहिले पनि असन्तुष्टि कायम छ । खासगरी तराई–मधेश अत्यन्त संवेदनशील क्षेत्र पनि हो । त्यहाँका जनतालाई पनि विश्वासमा लिएर हामीले संविधान बनाउन सक्नुपर्थ्यो तर त्यो गर्न सकेनौं । त्यसले गर्दा जुन असन्तुष्टि छ त्यो असन्तुष्टिलाई पनि छिटो सम्बोधन गर्यौं भने साँच्चै नै दिपावली गर्न लायक अवस्था आउँछ । अहिले नै बढी नाचगान गर्नु भन्दा पनि यसलाई सकारात्मक ढंगले लिँदै हाम्रा देशका सबै दाजुभाइ–दिदीबहिनीहरुको समर्थन जुटाएर सबैमा खुशीयाली आउने ढंगले लानुपर्छ भन्ने मान्यता राख्छु । त्यसैले म मूल रुपमा खुशी छु तर आशिंक रुपमा चाहिँ अझै पनि नाचगान गर्ने बेला भइसकेको छैन भन्ने मेरो धारणा हो ।’

Dhurmus-Suntali Basti Abalokan Baburam Bhattarai (2)

संविधानसभा २००७ सालमा पहिलो चोटि नेपालको राजनीतिक परिदृश्यमा आए पनि २०१४ सालपछि राजा महेन्द्रले अपहरण गरेको, पछि कांग्रेस र कम्युनिष्टहरु दुबैले त्यो एजेण्डालाई छोडेको उल्लेख गर्दै उनले २०४६ सालको जनआन्दोलनपछि आफूहरुले संविधानसभाको निर्वाचनको मुद्दा उठाए पनि त्यतिबेला आवाज त्यति ठूलो हुन नसकेको बताए । त्यतिबेला पनि उही मनोनित आयोगले संविधान बनाएको प्रसंग उल्लेख गर्दै उनले भने – ‘पछि हामीले नै माओवादीको तर्फबाट र माओवादीभित्र पनि मैले नै अलि जोडबलका साथ उठाएर संविधानसभा चाहिँ राष्ट्रिय एजेण्डा बन्यो । अहिले संविधानसभाबाट संविधान निर्मँण भएको छ । मुख्य रुपमा त मलाई खुशी र गर्वकै अनुभुति छ ।’

Dhurmus-Suntali Basti Abalokan Baburam Bhattarai (8)

पछिल्लो समयमा आफूमाथि लागेका विभिन्न आरोपहरुप्रति नेता भट्टराईले भने, ‘इतिहासमा पनि काजी भीम मल्लदेखि लिएर भीमसेन थापा, बहादुर शाहदेखि लिएर जसले देशको निम्ति काम गरे तिनको बदनाम गरेर भौतिक ढंगले नै सफाया गर्ने हाम्रो प्रचलन नै हो । अलि सही विचार ल्याउँछ, दूरदर्शीपूर्ण कुरा राख्छ भने त्यसमा आहारिस र डाहा गर्ने र त्यसलाई वैचारिक ढंगले नसकेपछि मनगढन्ते फत्तुर लगाएर जनतामा भ्रम छर्ने काजी भीम मल्लदेखिको नै रोग हो । त्यसबाट मुक्त हुन नसक्नु हाम्रो राजनीतिक क्षेत्र र जनताको निम्ति बडो दूर्भाग्यको कुरा भएको छ ।’

Dhurmus-Suntali Basti Abalokan Baburam Bhattarai (7)

आफू सभापति रहेको संवैधानिक–राजनीतिक संवाद तथा सहमति समितिले नै सबै कुरा टुंगो लगाएको, पछि आफ्नै नेतृत्वमा सबै दलका शीर्ष नेताहरु रहेको विशेष समितिले नै बाँकी रहेको सबै कुराको अन्तिम टुंगो लगाएको कुरा ‘रेकर्ड’ हुँदाहुँदै यस्तो कुरालाई समेत बंग्याएर बाबुरामको संविधान निर्माणमा भूमिका भएन भन्नु भ्रमपूर्ण प्रचार मात्रै रहेको पनि उनले स्पष्ट पारे । ‘खालि तराई–मधेश, थारु र मगर क्षेत्रका जनताहरु अलिकति बेखुशी हुनुहुन्छ, त्यसैले उहाँहरुलाई सम्बोधन गरौं भनेको आधारमा बाबुरामले संविधानको विरोध गर्यो, बन्न दिएन, अझ विदेशीको गोटी बन्यो भन्ने जुन प्रचार गरियो त्यो त संविधानसभाका विरोधीहरुको प्रचार हो’, उनले भने, ‘संविधानसभाबाट संविधान बन्न लाग्दा सायद उहाँहरुलाई छटपटि भएको छ । यो संविधानको सबैले स्वामित्व ग्रहण गर्नुपर्छ, म यसबाट सन्तुष्ट छु । मेरो एउटै मात्र आग्रह के हो भने हाम्रा सबै क्षेत्रका दाजुभाइ–दिदीबहिनीहरुलाई पनि समेटेर लानुपर्छ । उहाँहरुको पनि संविधानमा स्वामित्व भएन भने भोलि विग्रहको विऊ रोपिन सक्छ । यो बारेमा चाहि“ मैलै अझै पनि सतर्क गराउन चाहन्छु ।’ आफू घरभित्र मिल्न सकिएन भने छिमेकीले खेल्न सक्ने उल्लेख गर्दै उनले त्यस्तो मौका नै बन्न दिनु नहुने बताए ।

अबको मुख्य काम नवनिर्माण र पुनःनिर्माणको

Dhurmus-Suntali Basti Abalokan Baburam Bhattarai (1)

पहरी गाउँमा निर्माणको भएको २० घर रहेको धुर्मुस–सुन्तली एकीकृत नमुना बस्तीको अवलोकनपश्चात नेता भट्टराईले अबको काम राष्ट्रिय नवनिर्माण र पुनःनिर्माणको भएको बताए ।

Dhurmus-Suntali Basti Abalokan Baburam Bhattarai (6)

‘प्राकृतिक विपत्तीलाई मानवीय शक्तिको प्रयोगद्वारा नयाँ निर्माणको अवसरमा परिणत गर्नुपर्छ भन्ने सोंच राख्दै आएका हौं । यो विषयमा मैले आफ्नो ठाउँबाट व्यवस्थापिका संसद्मा र बाहिर पनि आवाज उठाए“ । सरकारले पनि प्राधिकरणमार्फत काम अगाडि बढाउने त भन्यो तर हामी संविधान निर्माणको काममा अल्झियौं, उनले भने – हिजो मात्रै औपचारिक ढंगले संविधान निर्माणको काम सकिएको छ । राष्ट्रपतिबाट सार्वजनिकीकरणको काम मात्रै बाँकी छ र त्यो काम भोलि हुन्छ । त्यसैले अबको हाम्रो मुख्य काम भनेको देशको नवनिर्माण र पुनःनिर्माण नै हो ।’

Dhurmus-Suntali Basti Abalokan Baburam Bhattarai (4)

कलाकार सिताराम कट्टेल र कुञ्जना घिमिरे (धुर्मुस–सुन्तली) ले आफ्नो कलाको क्षेत्रबाट अलि माथि उठेर राष्ट्रिय दायित्वको रुपमा बहन गर्दै गरेको नमुना एकीकृत बस्ती निर्माण अत्यन्त प्रशंसनीय भएको पनि उनले बताए । आर्किटेक्ट प्लानर पनि हुनुको नाताले र उनीहरुको कामबाट पनि प्रभावित भएको हुनाले आफू बस्ती हेर्न आएको नेता भट्टराईले बताए ।

अहिले सबै दलका नेताहरुसँग सल्लाह गरेर संसद्मा विधेयक प्रस्तुत भएको उल्लेख गर्दै उनले भने – ‘अहिले हामीसँग पनि सल्लाह गरेर अघि बढाइएको छ । अझै पूर्ण रुपमा सन्तुष्ट हुने खालको त छैन, तैपनि मूलरुपमा सच्याएर नयाँ विधेयक बनाएर व्यवस्थापिका संसद्मा प्रस्तुत भएको छ । त्यो जारी भइसकेपछि त्यसको काम अघि बढ्ला । अर्कोपट्टि संविधान निर्माणको काममा नै हामी सबैको ध्यान गएको थियो, संविधान निर्माणपछि अब हाम्रो ध्यान राष्ट्रिय नवनिर्माण र पुनःनिर्माणतिरै लानुपर्छ।’

‘बस्तीहरु अर्थनीतिसँग जोडिएका हुन्छन् । हिजोको हाम्रो आर्थिक नीति निर्वाहमुखी खेतीपाती प्रणालीमा आधारित थियो । त्यसैले एउटै मान्छेले खेतीपाती पनि गर्ने, पशुपालन पनि गर्ने र आफ्नो घर पनि त्यसको निम्ति छुट्टै बनाउनुपर्ने हुँदा हाम्रा बस्तीहरु धेरै छरिएका थिए । त्यसले गर्दा सेवा–सुविधा पुर्याउन गाह्रो पनि हुन्थ्यो’, उनले भने – ‘अब हामी नयाँ औद्योगिक युगतिर प्रवेश गर्दैछौं भने बस्तीहरु छरिएर होइन एकीकृत ढंगले निर्मँण गर्नुपर्छ, सेवासुविधा एक ठाउँमा केन्द्रित गर्नुपर्छ ।’

राज्यले पहिले नै नीति निर्माण गर्ने, योजनाहरु बनाइदिने, साधन–स्रोत परिचालन र त्यसको व्यवस्थापनको उपयुक्त वातावरण र नीति निर्माण गरिदिने र नीजि क्षेत्र र नागरिकहरुको पनि सहयोग जुटाएर नवनिर्माण÷पुनःनिर्माणको अभियानलाई अघि बढाउनुपर्नेमा उनले जोड दिए । ‘नागरिक क्षेत्रबाट गरिने काम त पुरक काम हो । सरकारले नै पहिले मोडेल बनाएर त्यो ढंगले अरुले काम गर्ने हुनुपर्दथ्यो तर हामीकहाँ उल्टो भइराखेको छ’, नेता भट्टराईले भने – ‘अब यसको नेतृत्व सरकारले नै गर्नुपर्छ । राज्यले नीति बनाइदिने र निजी क्षेत्रले त्यसअनुरुप यस्ता बस्तीहरुको निर्माण गर्नु उपयुक्त हुन्छ ।’