८ असोज, बेइजिङ ।

मेक्सिको सिटीमा अर्को शक्तिशाली भूकम्प आउँदा मानिसहरुमा त्रास फैलिएको छ । शक्तिशाली भूकम्पले मेक्सिकोमा चार दिन अघि आएको भूकम्पबाट भत्किएका भवनहरुबाट जीवितहरु खोज्ने प्रक्रिया केही समयका लागि स्थगित गरिएको थियो ।

स्थानीय समय अनुशार बिहानै ६.१ म्याग्नीच्यूडको भूकम्प आउँदा सयौं मानिसहरु घर छोडेर सडकतिर दौडिएका थिए । स्थानीय बासिन्दाले रोयटर्स समाचार संस्थालाई दिएको जानकारी अनुशार ब्रेकफाष्ट र बिहानको कफी खाने तयारी गरिरहेको समयमा घर हल्लिएको थियो ।

मेक्सिको सिटीका मेयर मिगेल एन्जेल मन्सेराले ट्वीट मार्फत प्राथमिकतामा उद्धार कार्य नै रहेको र नयाँ भूकम्पले क्षति पुर्याएका विवरण प्राप्त भइनसकेको बताएका छन् । भूकम्पको केन्द्रबिन्दु दक्षिण पश्चिमी राज्य ओक्साकामा रहेको बताइएको छ ।

अधिकारीहरुले ठूलो भूकम्पपछि परकम्पहरु अपेक्षित रहेको भन्दै झटपट झोला तयार राख्न नागरिकहरुलाई भनेका छन् । केही साताभित्र मेक्सिकोमा आएको तेश्रो ठुलो भूकम्प हो ।