एजेन्सी । लियोनल मेस्सीको ह्याट्रिकसँगै अर्जेन्टिना आगामी वर्ष रुसमा हुने विश्वकप फुटबलमा छनौट भएको छ ।

आज विहान भएको खेलमा इक्वेडरलाई ३–१ ले हराउँदै अर्जेन्टिना विश्वकपमा छनौट हुन सफल भएको हो । घरेलु मैदानमा भएको खेलमा इक्वेडरले पहिलो मिनेटमै अग्रता लिएको थियो । तर पछि खेलमा फर्कँदै मेस्सीले १२ औं, २० औं र ६२ औं मिनेटमा गोल गरेपछि अर्जेन्टिनाको जित सुनिश्चित भएको हो ।

दक्षिण अमेरिकी समूहबाट २८ अंकसहित तेस्रो स्थानमा रहँदै अर्जेन्टिना विश्वकपमा छानिएको हो । आज विहानै भएको अर्को खेलमा कोलम्बिया र पेरुले १–१ गोलको बराबरी खेल्दै अंक बाँडेपछि अर्जेन्टिनालाई सोझै छनौट हुन थप सहज भएको हो ।

कोलम्बिया पनि विश्वकपमा छानिएको छ भने पेरुले प्लेअफ खेल्नुपर्ने भएको छ । उरुग्वे पनि बोलिभियालाई ४–२ ले पराजित गर्दै समूहको दोस्रो स्थानमा रहेर विश्वकपमा छानिएको छ । आज विहान भएको खेलमा ब्राजिलले चिलिलाई ३–० ले पराजित गरेको छ । यसअघि नै छनौट भइसकेको ब्राजिलसँग हारेपछि चिलीको विश्वकप खेल्ने संभावना सकिएको छ ।

यस्तै आज विहान भएको खेलमा कोष्टारिकालाई २–१ ले हराउँदै पानामा पहिलोपटक विश्वकपमा छनौट भएको छ । अर्को खेलमा ट्रिनिडाड एण्ड टोबागोसँग २–१ ले हारेपछि अमेरिका विश्वकपको छनौट चरणबाटै बाहिरिएको छ ।