१९ भदौ, झापा ।

पूर्व पश्चिम राजमार्गअन्तर्गत कनकाई नगरपालिका–८ लक्ष्मीपुर चोकमा आज भएको मोटरसाइकल दुर्घटनामा परी एक महिलाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा शिव शताक्षी नगरपालिका–७ निवासी ५४ वर्षीया जीवकला अधिकारी रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ ।

पश्चिमबाट पूर्वतर्फ आइरहेको मे २ प ४४२७ नम्बरको मोटरसाइकलमा सवार उनलाई सोही दिशाबाट आएरहेको मे ६ प ८६७३ नम्बरको मोटरसाइकलले उछिन्ने क्रममा ठक्कर दिएको बताइएको छ ।

मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते बनेकी उनको उपचारका क्रममा आज दिउँसो बिर्तामोडस्थित बिएन्डसी मेडिकल कलेजमा मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रहरी सहायक निरीक्षक यामबहादुर खड्काले जानकारी दिए ।

उनका अनुसार आफ्नै श्रीमान् ५६ वर्षीय रुद्र अधिकारीले चलाएको मोटरसाइकलमा पछाडि सवार उनको टाउकोमा गम्भीर चोट लागेको र अत्यधिक रक्तश्रावका कारण मृत्यु भएको हो ।

दुर्घटनामा परी अधिकारीसहित अर्का मोटरसाइकल चालक बलराम गिरी पनि घाइते भएको बताइएको छ । घाइते गिरीको बिर्तामोडस्थित पूर्णा—तुङ बिर्तासिटी हस्पिटलमा उपचार भइरहेको बताइएको छ ।