१० वैशाख, काठमाडौं ।
मधेसी मोर्चासँग भएको सहमति भएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज मन्त्रीपरिषद्को बैठक बोलाएका छन् । मधेसी मोर्चासँग भएको सहमति अनुसार संविधान संशोधनको प्रक्रिया अगाडि अढाउन मन्त्रीपरिषद्ले बैठकले विधेयकमा समावेश गर्ने विषय पारित गर्नेछ । सरकारले मोर्चालाई सहमतिमा ल्याउनको लागि दुई चरणमा निर्वाचन गर्ने, भाषा, नागरिकता र राष्ट्रिय सभामा प्रतिनिधित्वको विषयमा थप भाषा परिमार्जन गर्ने छ ।

सिमाकंन टुंगो लगाउन अधिकार सम्पन्न समानुपातिक र समावेशी संघीय आयोग गठन गर्ने लगायतका विषयमा सरकार र मोर्चाबीच सहमति भएको छ । संविधान संशोधनको विषयमा छलफल गर्न अहिले माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रचण्डले पार्टी केन्द्रीय कार्यालयको बैठकमा छलफल गरिरहेका छन् ।

दिउसो ११ बजे प्रचण्डले मन्त्रीपरिषद्को बैठक बोलाएका छन् । आजको मन्त्रीपरिषद् बैठकले आन्दोलनको घोषणा गरेको मधेसी मोर्चालाई निर्वाचनमा सहभागी गराउने महत्वपूर्ण निर्णय गर्नेछ । मन्त्रीपरिषद्को बैठक लगत्तै आन्दोलनको कार्यक्रम फिर्ता लिनको लागि मधेसी मोर्चाको बैठक बस्ने भएको छ ।