१२ असोज, काठमाडौं ।

प्रमुख राजनीतिक दलले गठन गरेको वार्ता टोली तजथा तराई मधेस लोकतान्त्रिक पार्टी र मधेसी जनअधिकार फोरम नेपाल (लोकतान्त्रिक)का अध्यक्षहरुबीच सोमबार भएको छलफल सकारात्मक दिशातर्फ उन्मुख रहेको छ ।

नयाँ संविधानप्रति असहमति जनाउँदै आन्दोलनमा रहेका तमलोपाका अध्यक्ष महन्थ ठाकुर र फोरम(लोकतान्त्रिक)का अध्यक्ष विजयकुमार गच्छदार निवासमा पुगेर तीन दलको वार्ता टोलीले उनीहरुसँग छलफल गरेको थियो । तीन दलीय वार्ता टोलीमा नेपाली काँग्रेसका नेता एवं वन तथा भूसंरक्षण मन्त्री महेश आचार्य, नेकपा (एमाले)का प्रमुख सचेतक अग्नि खरेल र एकीकृत नेकपा(माओवादी)का उपाध्यक्ष नारायणकाजी श्रेष्ठ थिए ।

leaders at gachhedar nibas 1

वार्ताका क्रममा आन्दोलनरत दलका तर्फबाट वार्तामा बस्नुअघि आफ्ना कार्यकर्तामाथि लगाइएको मुद्दा फिर्ता हुनुपर्ने, सेनालाई ब्यारेक फर्काउनुपर्ने, घाइतेको निःशुल्क उपचारको व्यवस्था हुनुपर्नेलगायत माग राखिँदै आएको छ ।

तीनदलीय वार्ता टोलीले वार्ताका माध्यमबाटै सबै समस्याको समाधानमा पुग्न सकिने भएकाले शीघ्र वार्तामा आउन आग्रह गर्दै आन्दोलनकारीका तर्फबाट उठाइएका कतिपय विषयवस्तु संविधान संशोधन गरेर सम्बोधन गर्न सकिने विश्वास दिलाएको नेता श्रेष्ठले जानकारी दिए ।

मधेसकेन्द्रित दलले खास गरी सङ्घीय प्रदेशको सीमा, नागरिकता, समानुपातिक तथा समावेशिताका विषयलाई केन्द्रित गरेर आन्दोलन गर्दै आएका छन् ।

तीन दलको आज बिहान बसेको बैठकले नयाँ संविधानप्रति असहमति दर्साई आन्दोलन गरिरहेका मधेसी, थारु एवम् अन्य समुदायसँग वार्ता गर्न तीन सदस्यीय समिति गठन गरेका थियो ।

यसैबीच अध्यक्ष गच्छदारले आजै साँझ प्रधानमन्त्री सुशील कोइरालासहित काँग्रेसका शीर्ष नेतासँग छलफल गरेको बुझिएको छ । तीन दलको वार्ता टोलीले मङ्गलबार पनि आन्दोलनरत दलसँग वार्ता गर्ने बताइएको छ ।