९ साउन, काठमाडौं ।

नमुना–१
राजधानीसँग तराई जोड्ने ‘लाइफलाइन’ नारायणगढ–मुग्लिङ सडक खण्ड २७ महिना बित्दा आधामात्रै निर्माण सकिएको छ । ३३ किलोमिटरको सो सडक दुई वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्यसहित अप्रिल २०१५ मा काम थालिएको थियो । भूकम्प, नाकाबन्दी र अनेक बहानामा उक्त सडक खण्ड बनाउने म्याद तेस्रोपटक थपिएको छ । तर, उक्त सडक खण्ड ५२ प्रतिशत मात्रै बनेको छ । उक्त सडक बनाउने म्याद अप्रिल २०१८ सम्म थपिएको छ ।

नमुना– २
कोटेश्वर–कलंकी (१०.३९ किमि) सडक निर्माण ठेक्का सम्झौताबमोजिम भएको भए यतिबेला आठ लेनको सडक सञ्चालन भइसक्थ्यो । २०१२ डिसेम्बर १८ मा भएको सम्झौताअनुसार उक्त सडक निर्माण कार्य २०१६ मे १५ मा सक्नुपर्ने थियो । दोस्रोपटक म्याद थपेर सन् २०१७ जनवरीमा सक्ने लक्ष्य राखिए पनि सडक तयार भएन । त्यसपछि सन् २०१८ जुलाईसम्म सक्ने गरी म्याद थपिएको छ । दुईपटक म्याद थपिए पनि उक्त सडक निर्माण समयसीमाभित्रै सम्पन्न हुनेमा शंका छ । आजको नागरिकमा खबर छ ।

बिनातयारी ठेक्का प्रक्रिया अघि बढाउनु, निर्माण व्यवसायीको चरम लापरबाही र ठेकेदारलाई बारम्बार म्याद थपिदिने सरकारी प्रवृत्तिले तोकिएको समयमा सडक निर्माण सम्पन्न हुन नसकेको हो ।

नमुना–३
त्रिपुरेश्वर–नागढुंगा (१२.६ किमि) सडक खण्ड २८ महिनाभित्रै निर्माण सम्पन्न गर्ने लक्ष्यसहित २०७२ असार ३१ गते ठेक्का दिइएको थियो । २५ महिना गुज्रिसक्दा सडक विस्तार कार्य ३५ प्रतिशत सकिएको छ । ठेक्का गरेको म्याद गुज्रिन अब तीन महिना बाँकी छ । काठमाडौं उपत्यका सडक विस्तार आयोजनाका अनुसार पाइलैपिच्छे उत्पन्न भएका समस्याले काम अघि बढ्न नसकेको हो ।

निर्धारित समयमै निर्माण सम्पन्न हुन नसकेका केही प्रतिनिधिमूलक सडक हुन् यी । यी सडकमा दैनिक हजारौं सवारीसाधनको बाक्लो आउजाउ हुन्छ । तर तीनै सडकको ठेक्का सम्झौता बारम्बार म्याद थप्दै गुज्रिँदै आएका छन् । निर्माणमा ढिलाइ हुँदा हजारौं यात्रुले सास्ती पाएका छन् ।