२४ बैशाख, अलेपो ।

अमेरिका र रसियाको दबाबमा सिरियाली सहर अलेपोमा हिजोदेखि युद्धविराम भएको भनिएपनि शुक्रबार पुनः भिडन्त भएको खबर छ ।

सिरियाली सैनिक र अल कायदाका लडाकूबीच भएको भनिएको सो भिडन्तमा परी ७० जनाभन्दा बढीको ज्यान गएको बताइएको छ ।

अल नुस्रा फन्ट र अल कायदाको अर्को गठबन्धनले सरकारी सुरक्षाकर्मीसँग भिडन्त गरेको थियो । यी मुस्लिम अतिवादीहरुले अलेपोको तुमन गाउलाई घेरामा हाली बिहीबार रातिदेखि शुक्रबार बिहानसम्म आक्रमण गरेका थिए ।

syria bombing 25698410

सो आक्रमणमा परी ७० जना भन्दा बढीको ज्यान गएको छ । उक्त गाउ घेराहाल्ने विद्रोही समूहलाई सैनिकले कारबाही गरेको हो ।

सो आक्रमणमा परी अल नुस्रा फन्टका मात्र ४३ जना मारिएका छन् । साथै अरु ३० जनामा सरकारी सुरक्षाकर्मी र अन्य केही विद्रोही परेका बताइएको छ ।

सिरियाली सैनिक अलेपोमा युद्धविराम गर्न बिहीबारमात्र सहमत भएको समाचारमा जनाइएको थियो । अमेरिका र रसियाले सिरियाली सहर अलेपोमा युद्धविरामका लागि त्यहाँको सेना समक्ष दबाब दिएका थिए ।

सिरियामा करिब महिनादिन देखि युद्धबिराम जारी रहेको छ । तर यसै अवस्थामा अलेपोमा भने भिडन्त भइरहेको छ । सो भिडन्तमा परी कैयौं नागरिकले ज्यान गुमाएका छन् ।

अलेपोकै कारणले सिरियामा युद्धविराम भङ्ग हुने र जसले गर्दा सिरियाको शान्ति वार्ता नै अवरुद्ध हुने खतरा बढ्दै गएको भनिएका बेला आज पुनः यो भिडन्त भएको समाचार आएको छ ।

युद्धविराम कायम रहेकै बेला गत अप्रिल २२ देखि सिरियाली अलेपो सहरमा हिंसा सुरु भएको हो । सो हिंसामा परी कम्तीमा पनि ३०० जनाभन्दा बढीको जनाको ज्यान गएको छ ।

सन् २०११ को मार्च महिनादेखि त्यहाँका राष्ट्रपति बसर अल असदको राजिनामाको मागगर्दै सो आन्दोलन सुरु भएको हो । पछि यो आन्दोलन गृहयुद्धमा परिणत भएको छ ।

सो समयदेखि हालसम्म जारी हिंंसा तथा द्वन्द्वमा परी दुई लाख ७१ हजार भन्दा बढी सर्वसाधारण एवम् सुरक्षाकर्मीले ज्यान गुमाएको तथ्य बेलायतसँग आवद्ध सिरियन अब्जरभेटरी फर ह्युम्यान राइट्सले जनाएको छ ।

यस द्वन्द्वमा ७९ हजार भन्दा बढी सर्वसाधारण नागरिक मारिएका र यसमा १३ हजार ५०० बालबालिका र करिब ९ हजार महिला रहेका छन् ।

सिरियामा केही महिनायतादेखि युद्धविराम भएको छ । त्यसको अनुगमन संयुक्त राष्ट्रसंघ र अमेरिकाले गरिरहेका छन् । वार्ताको प्रयास भइरहेको छ तर सुरु भने हुन सकिरहेको छैन ।

लामो सयमदेखि युद्धविराम कायम रहेको भएपनि वार्ता हुन सकिरहेको छैन । त्यसैले अमेरिकी विदेशमन्त्री जोन केरी पनि वार्ताको वातावरणका लागि बर्लिन पुग्नुभएको छ ।

अमेरिका र रसियाको दबाबका कारण बिहीबार सिरियाली सैनिक अलेपोमा ४८ घन्टे युद्धविराम गर्न तयार भएको छ । जसका कारण शान्ति वार्ताको प्रक्रिया पनि अघि बढ्नसक्ने अनुमान गरिएको थियो ।

अलेपोमा सरकारी सेनाले नै युद्धविराम भङ्ग गरेर आक्रमण थालेको विपक्षीहरुको भनाई छ । उता अर्काेतर्फ सरकारी सेनाले भने विपक्षीले हमला गर्ने गरेको जनाएको छ ।

तर बिहीबार राति भने अल कायदासँग आवद्ध लडाकूले सो हिंसा मच्चाएको र उनीहरु विरुद्धको कारबाहीका लागि मात्र सरकारी सेनाले आक्रमण गरेको स्पष्ट गरेको छ । रासस÷एपी