२३ भदौ, काठमाडौं ।

कार्यालय जाने क्रममा हराएका प्रशासनिक प्रशिक्षण केन्द्रका सहसचिव तीर्थराज घिमिरे ६ दिन बित्दा पनि भेटिएका छैनन् ।

गत बिहीबार बिहान साढे ९ बजेदेखि उनी बेपत्ता छन । जावलाखेलबाटै उनी हराएका थिए । चुनिखेलस्थित घरबाट श्रीमतीसँगै कार्यालय गएकोमा उनी जावलाखेलस्थित प्रशासनिक प्रशिक्षण केन्द्रअगाडि झरेका थिए । उनी गाडीबाट झरेपछि श्रीमती भने सोही गाडीमा पुल्चोक गएकी थिइन् । गाडीबाट झरेर उनी सधैँ जावलाखेलको पानपसलमा पान खान जाने गर्दथे ।

बिहीबार पनि पानपसलमा गएको देखिएको छ । उनको मोबाइलको अन्तिम लोकेसन पुल्चोकमा देखिएको प्रहरीले जनाएको छ । बिहीबारयता कसैसँग पनि उनको सम्पर्क नभएको परिवारले जनाएको छ । प्रहरीले विभिन्न कोणबाट अनुसन्धान गरी खोजी गरे पनि उनको बारेमा खुल्न सकेको छैन ।

अध्ययनमा तीक्ष्ण घिमिरेले खुला प्रतिस्पर्धाबाट सहसचिवमा नाम निकालेका थिए । परिवारमा कुनै तनाव नभए पनि कार्यालयमा आफूलाई जानकारी नदिई केही काम गरेको भन्दै रिसाएको प्रहरी अनुसन्धानमा खुलेको छ । आजको नयाँ पत्रिकामा खबर छ ।