२८ जेठ, काठमाडौं । अन्ततः राष्ट्रिय जनता पार्टी नेपाल आन्दोलनमा जाने भएको छ । सत्तारुढ दलसँग लगातार भएको छलफल विना निश्कर्ष सकिएपछि राजपा नेपाल आन्दोलनमा जान लागेको हो ।

उसले आजै दिउँसो ४ बजे पत्रकार सम्मेलन गरी स्थानीय तहको दोस्रो चरणको चुनाव बिथोल्ने गरी आन्दोलन घोषणा गर्ने तयारी गरेको छ । हिजो र आज सत्तारुढ दलसँग भएका छलफल सकारात्मक नभएपछि आन्दोलनमा जान बाध्य भएको राजपा नेता केशव झाले बताए ।

उनका अनुसार उमेद्बारीमा अवरोधदेखि आमहड्तालसम्मका कार्यक्रम घोषणा हुनेछ । प्रधानमन्त्री निर्वाचनमा शेरबहादुर देउवाको पक्षमा भोट हालेको राजपाले त्यसको भोलिपल्टै देखि आन्दोलनमा जाने कुरा गर्दै आएको थियो ।

संसद बैठकमा बोल्दै प्रधानमन्त्री शेरबहादुर देउवाले संविधान संसोधन चुनाव पछि मात्रै हुने भनेर स्पष्ट भनेपछि राजपा आन्दोलनको मनस्थितीमा पुगेको हो । सत्तारुढ दलसँगको छलफलमा चुनावको मिति सार्न गरेको आग्रह सत्तापक्षलेअस्विकार गरेपछि राजपा आन्दोलनको निर्णयमा पुगेको हो ।