१२ जेठ, वीरगञ्ज । वीरगंजको विर्तामा सन्चालित डा.लक्ष्मी थापाको क्लिनिकले राजश्व छलेको भन्दै आन्तरिक राजश्व कार्यालय वीरगंजले छापामारी गरि आवश्यक कागजात नियन्त्रणमा लिएको छ ।

विगत लामो समयदेखि राजश्व नबुझाई क्लिनिक सन्चालन गरेको सूचनाका आधारमा आफुहरुले क्लिनिकमा छापा मारेर आवश्यक कागजात नियन्त्रणमा लिएको आन्तरिक राजश्व कार्यालय वीरगंजका राजश्व अधिकृत तारा प्रसाद भुसालले जानकारी दिए ।

थापाले क्लिनिकमा दैनिक ८० देखि एक सयसम्म विरामिको चेकजाँच गर्ने गरेको राजश्वले नियन्त्रणमा लिएको रसिद पुर्जिबाट देखिन आएको छ । तर डा. थापाले भने आफ्नो क्लिनिकमा दैनिक ५ जना भन्दा कम विरामि आउने गरेको भन्दै न्युन संख्या राखेर अभिलेख उपलब्ध गराएको पनि राजश्व अधिकृत भुसालले बताए ।

डा. थापाले उपलब्ध गराएको अभिलेख र आफुहरुले नियन्त्रणमा लिएको कागजात मेल नखाएको भन्दै राजश्व छलिमा आवश्यक कारवाहि गरिने पनि उनले बताए । राजश्व कार्यालयले टेलिफोन बाट र पत्र काटेर राजश्व दाखिला गर्न जानकारी गराएको भए पनि अटेर गरे पछि बाध्य भएर छापा मार्नु परेको जनाएको छ ।

डा. थापा नारायणी उपक्षेत्रिय अस्पताल वीरगंजमा बरिष्ठ स्त्री रोग विशेषज्ञको रुपमा कार्यरत छिन् । आफ्नै मेडिकल सन्चालन गरेर अस्पतालमा समयमा नपुग्ने, ११ बजे अस्पताल छिरेर १ बजे नै निस्कने र क्लिनिक सन्चालन गरेर बस्ने गरेको अस्पतालकै कर्मचारी बताउँछन् ।

थापाले सन्चालन गरेको क्लिनिक सहित यहाँका सबैजसो निजि क्लिनिकहरुले चेकजाँच गरेबापत एक जना संग ५ सय रुपैयाँ दस्तुर लिने गर्छन् ।

कतिपयले ५ सय २५ रुपैयाँ समेत लिने गरेको भेटिएको छ । यसरी असुलेको दस्तुरबाट सेवा शुल्क बापत क्लिनिकले प्रति व्यक्ति ५ प्रतिशतका दरले राजश्व दाखिला गर्नु पर्छ । शेवाग्राहि विरामि संग चर्को शुल्क असुल्ने तर राजश्व नबुझाउने प्रबृत्ती देखिएकाले यहाँ सन्चालित सबै क्लिनिकका बारेमा बुझ्ने काम भइरहेको आन्तरिक राजश्व कार्यालयले जनाएको छ ।