१४ असोज, काठमाडौं । संसद सचिवालयमा कार्यरत एक महिला कर्मचारीमाथि यौन दुर्व्यवहार गरेको आरोप लागेपछि प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महराले राजीनामा दिएका छन् ।
सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाको सचिवालय बैठकले नैतिकताका आधारमा राजीनामा दिएर छानवीनमा सहयोग गर्न निर्देशन दिएपछि महराले राजीनामा बुझाएका हुन् ।

सभामुख महराको राजीनामा उपसभामुख डाक्टर शिवमाया तुम्बाहाङ्फेलाई बुझाइएकाे छ । महराको राजीनामा बुझाउन उनका स्वीकय सचिव सागर केसी उपसभामुखको कार्यकक्ष पुगेका थिए । ति महिलाले महराले आफ्नाे डेरामा आएर आफूलाई जबर्जस्ती गरेका भन्दै समाचार सार्वजनिक भएपछि महरामाथी नैतिक संकट परेकाे थियाे ।

महराले भने ति महिलाको दाबीलाई कपोलकल्पित भनेका छन् । पीडित महिलाले प्रहरीमा लिखित उजुरी भने अहिलेसम्म दिएकी छैनन् ।

नेकपाको निर्देशन

सत्तारुढ नेकपाले सभामुख महरलाई राजीनामा दिएर छानवीनमा सहयोग गर्न निर्देशन दिएको थियो । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको नेकपा सचिवालयको आकस्मिक केन्द्रीय सचिवालय बैठकले महरालाई राजीनामा दिन निर्देशन दिएको हो । “प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महराको नैतिक आचरणका सम्बन्धमा संचारमाध्यामहरुमा आएको समाचारहरुप्रति हाम्रो पार्टीको गम्भीर ध्यानाकर्षण भएको छ”, बैठकपछि प्रवक्ता नारायणकाजी श्रेष्ठले भने, “केन्द्रीय सचिवालयको बैठकले सभामुख महराले सभामुख तथा प्रतिनिधिसभा सदस्य पदबाट राजीनामा दिएर छानवीन प्रक्रियालाई सघाउनुपर्दछ भन्ने निर्णय गरेको छ । “

राजीनामा पत्रमा बठ्याइँ !

नेकपाले निर्देशन दिएको केही समयभित्रै सभामुख महराले राजीनामा दिए । तर राजीनामा पत्रमा उनले बठ्याइँ गरेको देखिएको छ । उनले राजीनामा पत्रमा “छानविन प्रक्रिया नसकिँदासम्मका लागि राजीनामा दिएको छु” भन्ने उल्लेख गरेका छन् । यसको अर्थ उनी फेरि यो पदमा बहाल हुन्छु भन्ने हुन्छ । उनले राजीनामा पत्रमा अर्को पनि बठ्याइँ गरेका छन्, त्यो के भने सत्तारुढ नेकपाले उनलाई प्रतिनिधिसभा सदस्यबाट समेत राजीनामा दिन निर्देशन दिएको हो । तर उनले सभामुख पदबाट मात्रै राजीनामा दिएका छन् । सभामुखको राजीनामासँगै यो पद स्वतः रिक्त हुने संवैधानिक व्यवस्था छ ।