२५ भदौ, एजेन्सी । भारतीय गायक तथा संगीतकार हिमेश रेशमियाले रानु मण्डलको पहिलो गीतको ‘टिजर’ सार्वजनिक गरेका छन् । ‘तेरी मेरी कहानी’ बोलका गीतमा रानु र हिमेश दुवैको स्वर छ । यो गीत हिमेशको नयाँ फिल्म ‘ह्याप्पी, हार्डी एन्ड हीर’को हो ।

हिन्दुस्तान टाइम्सका अनुसार यसको म्यूजिक भिडियो बिहीबार सार्वजनिक गरिने भएको छ । रेलवे स्टेशनमा गाउँदै भिग मागेर जीविका चलाइरहेकी रानुको बलिउडमा यो पहिलो व्यवसायिक गीत हो । हिमेशले ट्विटरमा टिजर सार्वजनिक गरेलगत्तै धेरै प्रतिक्रिया आइरहेका छन् । रानुको स्वरको धेरैले प्रशंसा गरेका छन् ।

रानुको चर्चा कुनै नाम चलेकी सेलेब्रेटीभन्दा कम छैन । नहोस् पनि कसरी, पश्चिम बंगालको रानाघाट रेलवे स्टेशनमा बसेर रानुले ‘एक प्यारका नग्मा है’ गाएको भिडियो सामाजिक सञ्जालमा भाइरल भएसँगै टिभी र सञ्चारमाध्यममा उनै छाएकी छन् ।