काठमाडौँ, ६ चैत ।

राष्ट्रपति डा रामवरण यादवले नेपाली सेनाले आज सैनिक मञ्च टुँडिखेलमा आयोजना गरेको परम्परागत घोडेजात्रा कार्यक्रम अवलोकन गर्नुभयो । राष्ट्रपति डा यादव नेपाली सेनाका परमाधिपतिसमेत हुनुहुन्छ ।

समारोहमा नेपाली सेनाले टाँगन र चार्जर घोडा दौड तथा नेपाल प्रहरीका तर्फबाट चार्जर घोडा दौड प्रस्तुत गरिएको थियो ।

सो अवसरमा शो जम्प, ड्रिल राइड, गु्रप टेण्ट पेगिङ, क्रस टेण्ट पेगिङ, लान्स हिट प्याक, लान्स, पिक र क्रिज, भल्टिङ र हर्ष ह्याण्डलिङ, सिक्स बार (लेडिज) र रेनफ्री जम्प, डग शो र हेङ्गेरियन पोष्ट प्रस्तुत गरिएको थियो । साथै साइकल दौड, म्युजिकल राइड र क्रस कन्ट्री जम्पसमेत सो अवसरमा प्रस्तुत गरियो ।

समारोहमा राष्ट्रपति डा यादवले म्युजिकल राइडर र शो जम्पका उत्कृष्ट प्रतियोगीलाई पुरस्कार प्रदान गर्नुभयो । शो जम्पमा जमदार जगदिश घिसिङ र सेनानी प्रकाश अर्याल क्रमशः प्रथम र द्वितीय हुनुभएको थियो ।

त्यस्तै, म्युनिकज राइडरतर्फ सहसेनानी ऋषिकेश न्यौपाने प्रथम तथा सहसेनानी पवन विष्ट दोस्रो हुनुभयो ।

मानिस र घोडाबीचको सम्बन्ध आदिमकालदेखि नै अन्योन्याश्रित रहँदै आएको मानिन्छ । महाभारतलगायत ठूला युद्धमा घोडाको प्रयोग गरेर युद्ध लडेको इतिहास पाइन्छ ।

नेपालमा घोडेजात्रालाई राष्ट्रिय पर्वका रुपमा मान्यता दिएर मनाउँदै आइएको छ । घोडेजात्राका अवसरमा घोडाको कौशल एवम् रोमाञ्जक खेल प्रस्तुत गरिने गरिन्छ ।

टुँडिखेलको दक्षिण–पूर्वस्थित रूखमा बस्ने गुरुमापा भन्ने राक्षसले सहरका बालबालिकालाई खाने गरेको र त्यसबाट पीडित सहरवासीले उसलाई मारे पनि प्रेतात्मा फेरि जागा भई बालबालिकालाई अनिष्ट गर्न सक्ने भयले गुरुमापाको आत्मालाई घोडाको टापले कुल्चाएर दबाउने सिलसिलामा घोडेजात्रा पर्व प्रारम्भ भएको मानिन्छ ।

सहरका कुनै पनि बालबालिकामाथि अनिष्ट नहोस् भनी आजै राति त्यही रूखको फेदमा गुरुमापालाई खानेकुरा पनि दिइने चलन रहिआएको छ ।

सोही घटनाको सम्झनामा काठमाडौँ उपत्यकामा प्रत्येक वर्ष चैतकृष्ण औँसीका दिन परम्परागत घोडेजात्रा पर्व मनाइँदै आइएको छ ।

उपराष्ट्रपति परमानन्द झा, प्रधानमन्त्री सुशील कोइराला, कायममुकायम प्रधान न्यायाधीश कल्याण श्रेष्ठ र सभामुख सुवास नेम्वाङ समारोहमा उपस्थित भई घोडेजात्रा कार्यक्रमको अवलोकन गर्नुभयो ।

समारोहमा मन्त्रीगण, संवैधानिक निकायका प्रमुख एवम् पदाधिकारी, नेपाल सरकारका उच्चपदस्थ अधिकारी, नेपालस्थित कूटनीतिक नियोगका प्रमुख एवम् प्रतिनिधि, सुरक्षा निकायका प्रमुख तथा समाजका विभिन्न क्षेत्रका विशिष्ट महानुभाव घोडेजात्रा हेर्न सैनिकमञ्च टुँडिखेल पुग्नुभएको थियो ।

घोडेजात्रा हेर्न टुँडिखेल वरपर सर्वसाधारणको घुइँचो लागेको थियो । अपराह्न ३ बजेदेखि सुरु भई एक घन्टा चलेको सो समारोहको सैनिकमञ्चबाट विभिन्न टेलिभिजन र अन्य विद्युतीय सञ्चारमाध्यमले प्रत्यक्ष प्रशारण गरेका थिए ।

नेपाली सेना मातहत रहेको श्री नेपाल क्याभलरी युनिटले प्रत्येक वर्ष टुँडिखेलमा हुने घोडेजात्राको संयोजन गर्दै आएको छ । घोडेजात्रा समारोहमा प्रर्दशन गरिने घोडादौड तथा अश्वकलामा नेपाल क्याभलरीका घोडाको प्रयोग हुने गर्दछन् ।