२७ कात्तिक, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी आज संयुक्त अरब इमिरेट्स युएई जाँदैछिन् । यूएईका युवराज शेख मोहम्मद बिन जाहेद अल नेह्यानको मैत्रीपूर्ण निमन्त्रणामा राष्ट्रपति भण्डारी आज युएई जान लागेकी हुन् ।

उनी दिउँसो साढे ३ बजे त्यसतर्फ प्रस्थान गर्ने राष्ट्रपतिका प्रमुख स्वकीय सचिव भेषराज अधिकारीले जानकारी दिए । राष्ट्रपति भण्डारी र युवराज नेह्यानबीच भोली औपचारिक वार्ता हुने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

नेपाल र युएईबीच कूटनीतिक सम्बन्ध स्थापनाको ४० औँ वार्षिकोत्सवको सन्दर्भमा राष्ट्रपतिबाट यो भ्रमण हुन लागेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार राष्ट्रपति र युवराजबीचका बैठक एवं छलफल आपसी हित र द्विपक्षीय सहयोगका विषयमा केन्द्रित हुनेछन् । राष्ट्रपति भण्डारीले अबुधावीस्थित नेपाली दूतावासद्वारा आयोजित एक कार्यक्रममा नेपाली समुदायसँग अन्तरक्रिया गर्ने कार्यक्रम छ । राष्ट्रपति भण्डारी आउँदो बिहिवार स्वदेश फर्किने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

राष्ट्रपति भण्डारीका साथमा छोरी निशाकुसुम भण्डारी, आपूर्ति मन्त्री जयन्त चन्द, राष्ट्रपतिका परराष्ट्र मामिला विज्ञ मदनकुमार भट्टराई, परराष्ट्र सचिव शंकरदास वैरागी, राष्ट्रपति कार्यालयका सचिव भूपेन्द्रप्रसाद पौडेल र राष्ट्रपतिको कार्यालय एवं परराष्ट्र मन्त्रालयका उच्च अधिकारीका साथै सञ्चार माध्यमका प्रतिनिधि रहनेछन् ।