८ कात्तिक, काठमाडौं । भेनेजुएलामा विपक्षी नियन्त्रित संसदले राष्ट्रपति निकोलास मडुरोले आफ्नो सरकारको भविष्यबारे हुन लागेको जनमतसंग्रह रोकेर एक किसिमको कु गरेको आरोप लगाएको छ।  nikolash

अघिल्लो हप्ता विपक्षीहरुले धाँधली गरेको आरोप लगाउँदै भेनेजुएलाको निवार्चन परिषदले जनमतसंग्रह स्थगित गरेको थियो। निर्वाचन अधिकारीहरुले राष्ट्रपतिलाई पदबाट फिर्ता गर्ने प्रस्ताव रोकिदिएपछि अघिल्लो हप्ताबाटै विपक्षी नेताहरुले ‘राजनीतिक ‘कु’ शब्द प्रयोग गर्न थालेका थिए।

अभियानकर्ताहरुले लाखौँ हस्ताक्षर संकलन गरिसकेका थिए र राष्ट्रपति मडुरो हटाउने प्रस्तावमा समर्थन जुटाउन वर्षभरि खटेका उनीहरुमा स्पष्ट निराशा देखिएको थियो।
होहल्ला बीच चलेको कंग्रेसको सत्रमा सरकारको समर्थन गरिरहेका सांसदहरुले अवरोध गर्न खोजेपनि अधिकांश सांसदले सरकारले संविधान उल्लंघन गरेको र आफ्ना वाचा पूरा नगरेको ठहर गरेका छन्। सांसदहरुले अन्य नौ प्रस्तावहरुको पक्षमा पनि मतदान गरेका छन् जसमा अन्तर्राष्ट्रिय समुदायलाई राष्ट्रपति मडुरोको सरकारलाई समर्थन नदिन भनिएको छ।

साथै जनमतसंग्रह रोक्ने राष्ट्रिय निर्वाचन परिषद र न्यायाधीशहरुलाई हेग स्थित अन्तराष्ट्रिय अदालतमा उभ्याउने उल्लेख गरिएको छ। विश्वव्यापी तेलको मूल्यबारे छलफल गर्न हाल साउदी अरेबियामा रहेका मडुरोले असंवैधानिक रुपमा दक्षिणपन्थीहरुले शक्ति हत्याउन खोजेको आरोप लगाउँदै उनकै शब्दमा ‘क्रान्तीले विजय हासिल गर्ने” बताएका छन्।

विपक्षीहरुले बुधवारबाट शान्तिपूर्ण प्रदर्शनहरु आयोजना गर्ने भन्दै क्रमिक रुपमा देशलाई आफ्नो पक्षमा उभ्याउने प्रतिक्रिया दिएका छन्। तेलमा धनी भएपनि हाल भेनेजुएला गम्भीर आर्थिक संकटमा परिरहेको छ र खाद्यान्न तथा औषधिको अभाव, उच्च मंहगी र अपराधका घटनामा वृद्धि जस्ता समस्याले उक्त देशलाई गाँजिरहेको छ।

भेनेजुएलाका जनताले जनमतसंग्रह नहुँदा देशमा समाजिक अस्थिरता बढ्न सक्ने चिन्ता व्यक्त गरिरहेका छन्।