२४ पुस, काठमाडौँ।
प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रको समग्र विकासका लागि संयुक्त राष्ट्र सङ्घबाट नेपालले नैतिक–भौतिकलगायत सबै किसिमका सहयोगको अपेक्षा गरेको बताएका छन् ।

राष्ट्र सङ्घका उपमहासचिव जेफ्री फेल्टम्यानसँग आज प्रधानमन्त्री निवासमा भएको भेटमा उनले सङ्कटको वर्तमान अवस्थाबाट नेपाललाई पार लगाउन उक्त विश्व संस्थाबाट नेपालले हरतरहको सहयोगको अपेक्षा गरेको बताए। “नेपालले झेल्नुपरेको मानवीय सङ्कटका बेला संयुक्त राष्ट्र सङ्घका महासचिवबाट प्राप्त नैतिक समर्थन र सहयोगप्रति प्रधानमन्त्रीले आभार व्यक्त गर्नुभयो,”– भेटपछि प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमालले सञ्चारकर्मीलाई बताए ।

jeffrey-feltman and kp oli

उपमहासचिव फेल्टम्यानले जारी सङ्कटबारे राखेको जिज्ञासाको प्रत्युत्तरमा प्रधानमन्त्रीले असल मनशायका साथ आन्दोलनरत सबै पक्षसँग वार्ता भइरहेकाले संविधान संशोधनसँगै विद्यमान असहज परिस्थिति अन्त्य हुने विश्वास व्यक्त गरेका सल्लाहकार रिमालले बताए ।

भेटमा सल्लाहकार रिमाल, प्रधानमन्त्री कार्यालयका परराष्ट्रविज्ञ गोपाल खनाल, परराष्ट्र मन्त्रालय, संयुक्त राष्ट्र सङ्घ महाशाखाका प्रमुख ताराप्रसाद पोखरेल र यहाँस्थित राष्ट्रसङ्घीय कार्यालयका कावा प्रमुख क्रेग सान्ड्रेर्सलगायत सहभागी थिए ।